यौन दुर्व्यवहारपछि आरोपितले घाँटी निमोठेर हत्या गरेको पुलिसद्वारा खुलासा
गान्तोकः नाबालिग विद्यार्थी हत्याकाण्डमा संलग्न रहेको आरोपमा सिक्किम पुलिसले २९ वर्षीय प्रीतम शर्मा नामक व्यक्तिलाई पक्राउ गरेको छ। मूल रूपले बिहार राज्यको समस्तिपूर, बालसान्दी निवासी आरोपित प्रीतम शर्मा पेशाले ट्याक्सी चालक हुन् जो गान्तोकको ताथाङचेनमा बस्दै आएका थिए। सिक्किम पुलिसले हिजो सोमवार राति आरोपितलाई रानीपुलबाट पक्राउ गरेको थियो जसपछि भएको सोधपुछको क्रममा आरोपितले बालिकामाथि यौन दुर्व्यवहार गरेरपछि हत्या गरेको कुरा स्वीकार गरेको सिक्किम पुलिसमा एडीजीपी (ल एण्ड अर्डर) अक्षय सचदेवाले आज प्रेस वार्तामा जानकारी दिए। पुलिसले आरोपितलाई आज जिल्ला अदालतमा पेश गरेपछि पुलिस रिमाण्डमा लिएको छ। यो जघन्य अपराधलाई समाधन गर्नका लागि सिक्किम पुलिसले एउटा विशेष जाँच दल गठन गरेको थियो। १४ अप्रेलका दिन बालिकाको शव पाङ्थाङ नजिक जङ्गलमा भेटिएपछि विभिन्न सबुत जुटाउने क्रममा एसके ०१ टी ९९५५ नम्बरधारी ट्याक्सी चालक प्रीतम शर्मामाथि शङ्का लागेको र हिजो राति पक्राउ गरेर सोधपुछ गर्दा उसले आरोप स्वीकार गरेको एडीजीपी अक्षय सचदेवाले बताए। पुलिसले आरोपित विरुद्द भारतीय दण्ड संहिता अन्तर्गत हत्याको आरोपमा मालिला दर्ता गरेको छ भने पोस्टमार्टम रिपोर्ट आएपछि बलात्कार अनि पोक्सो कानून अन्तर्गत पनि मुद्दा अघि बढाइने बताए।
जानकारी गराइन्छ, गान्तोकको एउटा स्कूलमा अध्ययनरत बालिका हराएको सम्बन्धमा परिवार पक्षले १० अप्रेका दिन सदर थाना गान्तोकमा एउटा रिपोर्ट दर्ता गराएका थिए। यसकै आधारमा खोजीको क्रममा १४ अप्रेलमा पाङथाङको जङ्गलमा एउटा शव भेटिएको जानकारी पाएपछि खोजी गर्दा पुलिसले हराएकी बालिकाकै शव हो भन्ने पहिचान गरेपछि अप्राकृतिक मृत्युको मामिला दर्ता गरेको थियो। शव पोस्टमार्टम गर्ने क्रममा अस्पतालका डाक्टरले यौन दुर्व्यवहारपछि भएको हत्याको आशंका व्यक्त गरेपछि यसै आधारमा जाँच अघि बडाइएको र केही दिनको लगातार प्रयासमा आरोपीसम्म पुग्न पुलिस सफल भएको हो। यो हत्याकाण्डलाई सुल्झाउन डीआईजी रेञ्ज टाशी वाङ्गेल भोटिया, गान्तोकका एसपी तेञ्जिङ लोडेन भोटिया, डीएसपी मिङग्युर टेम्पो नाडिक लगायत अन्य पुलिस अधिकारीहरूसहितको एउटा विशेष जाँच दल गठन गरिएको थियो। आरोपितको बयानको आधारमा पुलिसले बताए अनुसार, आरोपितले १० अप्रेलको लगभग साढ़े तीन बजी पीडित बालिकालाई गान्तोको तामाङ गुम्बा नजिकबाट आफ्नो गाडीमा चडाएको थियो। स्कूल छुट्टी भएर घर जाँदै गरेकी बालिकालाई गाडीमा चडाएर लगेपछि उनलाई घरमा नझारेर विभिन्न बहाना बनाउँदै पाथङाथको जङ्लमा लगेर यौन दुरव्यवहार गरे। पछि आफु पक्रा पर्ने डरका कारण बालिकाको घाँटी निमोठेर हत्या गरेको थियो। घटनाबारे विस्तृत सबुत जुटाउने काम भइरहेको र आरोपित विरुद्द कठोर कारबाहीका लागि पुलिसले दृढ़ताका साथ काम गरिरहेको एडीजीपीको भनाइ छ।
बालिका हत्यामा संलग्न आरोपितको पक्राउ भएको सूचना प्रसार भएयता पीडित पक्षका मानिसहरूले आरोपित विरुद्ध कठोर कारबाहीको माग गर्दै आएका छन्। आज बिहानदेखि नै पीडित परिवारको गाउँले लगायत आफन्ताजन गान्तोक सदर थाना अघि भेला भएर आरोपित विरुद्ध मृत्यु दण्डको सजाय हुनुपर्छ भन्ने माग उठाउँदै आएका थिए। अर्कोतर्फ आरोपितको रिमाण्ड लिनका लागि दिउॅंसो पुलिस जिल्ला अदालत परिसरमा पुग्दा मानिसहरूले आरोपितमाथि आक्रमणको प्रयास गरेका थिए। यस घटनलाई लिएर चौतर्फी निन्दा शुरु भएको छ भने आरोपित विरुद्ध कठोर सजायको माग उठ्न थालेको छ।










