नातिनीको बिहेको लागि राखेको २१ हजार रुपियाँ चोरी

Untitled-3.jpg

फुलबारी: नातिनीको बिहेको लागि अलिअलि गरेर जम्मा गर्दै राखेको रुपियाँ पनि चोरी भएको घटना प्रकाशमा आएको छ। यस घटना फुलबारीको पश्चिम धनतला इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार फुलबारी २ नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला निवासी मनि रायले फुलबारी बाइपासमा एउटा चिया दोकान चलाएर परिवारको भरण पोषण गरिरहेकी छन्। तिनको परिवारमा छोरा लगायत नाती-नातिनी छन्। प्रत्येक दिन चिया दोकान चलाएर कमाएको रुपियाँबाट केही रुपियाँ नातिनीको बिहेको लागि जम्मा गर्ने गर्थिन्। तिनले लगभग २१ हजार रुपियाँ जम्मा गरिसकेकी थिइन् भने त्यो रुपियाँ चोरले चोरेर चम्पट कसेपछि तिनी चिन्तित बनेकी छन्। तिनले बताएअनुसार प्रत्येक दिन झैँ हिजो राति दोकानबाट घर आएपछि खाना खाएर सुतेकी थिइन्। आज बिहान उठेर हेर्दा घरको बार भत्केको अवस्थामा रहेको साथै नातिनीको बिहेको लागि जम्मा गरेर राखेको लगभग २१ हजार रुपियाँ पनि बक्सा भत्काएर चोरले चोरेर लगेको बताइएको छ। घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिएको छ।

About Author

Advertisement