सोनादा: पहाडका चियाबारीहरु नागरी चियाबगान, रागेरुङ्ग चियाबगान तथा एभोन ग्रुप चिया बगानहरूमा देखिएका श्रमिकहरु र कर्मचारीवर्गका विभिन्न समस्याहरूलाई लिएर सहायक श्रम आयुक्तको ध्यानाकर्षण गराएका छन्। यस क्रममा यी चिया बगानका श्रमिकहरु र कर्मचारीहरुको विभिन्न समस्याहरु विषयमा दार्जिलिङ सहायक श्रम आयुक्तको कार्यालयमा भारतीय जनता पार्टीको श्रमिक संगठन भारतीय मजदुर संघ दार्जिलिङ जिल्लाका जिल्ला महासचिव प्रणय शेर्पा लगायत सम्बन्धित युनिटका प्रतिनिधिहरूले विस्तृत रूपमा ध्यानाकर्षण गराएको जानकारी प्राप्त भएको छ। उक्त चिया बगानहरूमा श्रमिकहरु तथा कर्मचारीहरूले नियमित रूपमा आफ्नो श्रम र पसिना बगाएर काम गरिरहे तापनि उनीहरूले पाउनुपर्ने रोजी, वेतन, ग्राजुएटी तथा भविष्य निधि पीएफ जस्ता आधारभूत श्रमिक हक-अधिकारबाट वञ्चित हुनुपरेको गम्भीर विषय उठाइएको छ। विशेष गरी नागरी चियाबगानको व्यवस्थापनलाई पटक-पटक स्मरण गराउँदा पनि समस्याको समाधान गर्न कुनै गम्भीर पहल नगरी अटेर गरिरहेकोप्रति भारतीय जनता मजदुर संघले कडा आपत्ति जनाएको छ। संघले श्रम विभागसमक्ष यस्ता गैरजिम्मेवार कम्पनी तथा व्यवस्थापनमाथि यथाशीघ्र कडा कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ। यदि कम्पनीले श्रमिकको रोजी, तलब तथा अन्य वैधानिक सुविधा उपलब्ध गराउन सक्दैन भने श्रमिकहरूलाई काममा लगाएर उनीहरूको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन। कम्पनीले बगान सञ्चालन गर्न नसक्ने अवस्था हो भने त्यसबारे स्पष्ट निर्णय दिनुपर्ने र श्रमिकहरूको बक्यौता तथा कानुनी हक सुनिश्चित गर्नुपर्ने हाम्रो स्पष्ट माग रहेको छ।
उक्त कार्यक्रममा युनिटका प्रतिनिधिहरू किरण राई, विकास राई, महेन्द्र प्रधान, प्रवीण प्रधान लगायत अन्य श्रमिक नेतृत्वहरूको उपस्थिति रहेको थियो। संघको स्पष्ट अडान:
श्रमिकको पसिनाको उचित मूल्य, समयमै रोजी-तलब, ग्र्याच्युटी तथा PF सुनिश्चित हुनैपर्छ। श्रमिकको हक र अधिकारमाथि हुने कुनै पनि अन्याय सह्य हुने छैन भनी भारतीय मजदुर संघ दार्जिलिङ जिल्ला सचिव
प्रणय शेर्पाले बताएका छन्।





