गान्तोक: नागपञ्चमीको पावन अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री भगवान सदा शिवजीअघि नतमस्तक बन्दै सबैको रक्षा गर्न र नागरिकहरूको नित्य सुरक्षा गर्दै तिनीहरूको जीवनबाट सबै बाधाहरू पन्छाई दिन भनी विनम्र प्रार्थना गरेका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भगवान सदा शिवले हामी सबैमा आफ्नो आशीर्वादको वर्षा गरून् र हामीलाई घातक महामारी जस्ता नकारात्मक तत्वहरु लगायत सबै प्रकारका खतराहरूबाट रक्षा गरून् भनी प्रार्थना गरेका छन्। साथै सदा शिवले हामीप्रति अनुग्रह राखी सदा हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि अनि सन्तुलन प्रदान गरिदिउन् भनी मुख्यमन्त्रीले आन्तरिक ह्रदयबाट प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले भनेका छन्, ‘पौराणिक धार्मिक कथामा आधारित तथ्य अनुसार, आस्तिक मुनिले श्रावणको पञ्चमीको दिन यज्ञमा सर्पहरूलाई जल्नबाट बचाउनुभयो र जलेको शरीरमा दूध खन्याई शीतलता प्रदान गर्नुभयो। ती सर्पहरूले पञ्चमीमा नागको पूजा गर्नेलाई सर्पदंशको डर नलाग्ने भनी आस्तिक मुनीलाई भनेका हुँदा, श्रावणको पञ्चमीका दिन नागको पूजा गर्ने संस्कार आजपर्यन्त यथावत छ भने त्यस बेला सर्पले न डस्ने मन्त्रहरुको पनि उल्लेख गरिएको थियो।’ यस घटनालाई पौराणिक योग-भुमि भारतको समृद्ध आध्यात्मिक परम्पराको एउटा महत्त्वपूर्ण अंश मानिन्छ भनी उनले बताएका छन्।










