यस्ता कार्यक्रमले देशको भविष्य निर्माण गर्न युवाहरूको सहभागिता महत्त्वपूर्ण छ: विधायक सोनाम लामा
सिलगढी: नर्थ बेंगाल साइन्स सेन्टरमा आयोजना गरिएको विकसित भारत यङ्ग लिडर्स डाईलग २०२७ युथ पार्लियमेन्टमा खरसाङका विधायक सोनाम लामाले सहभागी जनाएका छन्। विधायक सोनाम लामाले यस कार्यक्रममा सहभागी भएर धेरै नयाँ कुरा सिक्ने र सोच्ने अवसर पाएको बताउँदै देशको विकासका लागि युवाहरूले आफ्ना विचार राख्ने, एक-अर्कासँग विचार साटासाट गर्ने र नयाँ सोचका साथ योगदान दिने यस्तो मञ्च साँच्चै प्रशंसनीय रहेको बताएका छन्। विधायक सोनाम लामाले यस कार्यक्रमले देशको भविष्य निर्माण गर्न युवाहरूको सहभागिता, स्थानीय स्तरमा नेतृत्व, सबैलाई समेट्ने निर्णय प्रक्रिया र सकारात्मक छलफल कति महत्त्वपूर्ण छन् भन्ने कुरा देखाउँछ भनी बताएका छन्। यस अवसरमा उनले भने, ‘यस कार्यक्रमको सबैभन्दा राम्रो पक्ष भनेको यसले युवाहरूलाई आफ्नो विचार राख्न र नेतृत्व गर्ने अवसर दिएको छ। यहाँ युवाहरूले नयाँ सोच, सिर्जनशीलता र देशप्रतिको जिम्मेवारीलाई अगाडि बढाउने मौका पाउँछन्। नेतृत्व गर्नु भनेको पदमा बस्नु मात्र होइन, अरूलाई प्रेरणा दिन सक्नु, आफ्नो विचार राख्ने साहस गर्नु र समाजमा राम्रो परिवर्तन ल्याउन निरन्तर लागिरहनु पनि हो।’
उनले अघि भने, ‘यस्तो अर्थपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा म हृदयदेखि आभारी छु। नयाँ विचारहरू सुन्न, प्रेरणादायी व्यक्तिहरूसँग भेटघाट गर्न र देशको विकासमा योगदान दिन उत्साहित युवाहरूको जोश देख्न पाउनु साँच्चै राम्रो अनुभव रह्यो।’





