नयाँ कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको प्रि क्वाटर फाइनलमा नर्थ बेंगाल फुटबल क्लब र बाघडोगरा एफसी बिजयी

d9b1c812-e3c6-4b43-a36a-e8d6c876e374

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको‌ आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्ट अन्तर्गत मंगलवार भएको प्रि क्वाटरफाइनलमा नर्थ बेंगाल फुटबल क्लब र बाघडोगरा एफसी बिजय भएका छन्। मंगलवार भएको प्रि क्वाटर फाइनलको पहिलो खेल नर्थ बेंगाल फुटबल क्लब र शिमलबारी एफसीमाझ सम्पन्न भएको थियो। यस खेलमा नर्थ बेंगाल फुटबल क्लबको तर्फबाट समीर र देवजीतले एक एक गोल गरेका थिए। यस खेलमा नर्थ बेंगाल फुटबल क्लब २-० को अन्तरले विजयी भएका छन्। यस खेलमा नर्थ बेंगाल फुटबल क्लबका खेलाडी देवजीतलाई म्यान अफ् द म्याच चयन भएका छन्। त्यसरी नै दोस्रो खेल बाघडोगरा एफसी र सुनिल छेत्री एफसीमाझ सम्पन्न भएको थियो। यस खेलमा बाघडोगरा एफसी १-० गोलको अन्तरले विजयी भएका छन्। यस खेलमा बाघडोगरा एफसीको तर्फबाट एक मात्र गोल निखिल विश्वले गरेका थिए। यस खेलमा पराजित दल सुनिल छेत्री एफसीका गोल किपर रिञ्छेन तामाङलाई म्यान अफ् द म्याच चयन गरिएको छ। यस खेलमा निर्णयाकको रुपमा प्रमोद प्रधान र सह निर्णायकको रुपमा नितेन देवान र सल्मा सुब्बा रहेका थिए। यस खेलमा अतिथिका रुपमा रोहिणी एथलेटिक्स एसोसिएसनका पदाधिकारीहरु तथा स्थानीय अम्बर लामा, डम्बर प्रधान, मनिष राजपुत, जितेन तामाङ, रुद्रबहादुर प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। अब आगामी २९ अक्टोबरमा हुने अन्तिम प्रि क्वाटर फाइनल खेल दार्जिलिङ युनाईटेड र मेनलाइन लङ्भ्यूमाझ अनि अर्को खेल मकैबारी एफसी र एमएम तराईमाझ हुने भएको नयाँ कमान भेटरेन क्लबको तर्फबाट धिरेन प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी ११ नोभेम्बरमा हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख र उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने भएको जानकारी गराएका थिए।

About Author

Advertisement