धोतरिया बालासन जुम्ला गाउँमा सडक निर्माण कार्य शुरु

IMG-20260309-WA0090

स्थानीयको पुस्तौँदेखिको सपना पूरा हुँदै

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत पर्ने धोतरिया बालासन जुम्ला गाउँमा कालो अलकत्रे सडक निर्माण कार्य सुरु भएको छ। पुस्तौँदेखि स्थानीयवासीले देख्दै आएको सडकको सपना अब विस्तारै पूरा हुने चरणमा पुगेको बताइएको छ। स्थानीय बासिन्दाका अनुसार गाउँ राजनैतिक दृष्टिले लामो समयदेखि ओझेलमा परेको थियो। आधारभूत पूर्वाधारको अभावका कारण यहाँका बासिन्दाले वर्षौंदेखि यातायात र दैनिक जीवनमा कठिनाइ भोग्दै आएका थिए। तर अहिले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको दूरदर्शी सोच र क्षेत्रीय सभासद राजेश चौहानको पहलमा गाउँमा कालो अलकत्रे सडक निर्माण सुरु भएको छ। सडक निर्माण कार्य सुरु भएसँगै गाउँलेहरूमा उत्साह देखिएको छ। उनीहरूका अनुसार यो सडक निर्माण भएपछि यातायात, शिक्षा, स्वास्थ्य सेवा र व्यापार–व्यवसायमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ। स्थानीय एकजना बासिन्दाले भने, “हामीले पुस्तौँदेखि कालोपत्रे सडकको सपना देख्दै आएका थियौँ। अहिले त्यो सपना साकार हुने देख्दा निकै खुसी लागिरहेको छ।”
गाउँका बासिन्दाले यस पहलका लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन र सम्बन्धित जनप्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले विकासका यस्ता कामहरू आगामी दिनमा पनि निरन्तर भइरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

About Author

Advertisement