धनुकाँड़मा २ वटा स्वर्ण पदक, साहिल राजेश र चिकिथाले हासिल गरे ओलम्पिक कोटा

IMG-20260930-WA0050

नयाँ दिल्ली: भारतको निम्ति एशियाई खेलहरू २०२६-मा बुधवारको बिहान खास रह्यो। भारतीय धनुर्धर (आर्चर)-हरूले केही घण्टाको अन्तमा २ वटा स्वर्ण पदक जितेर देशलाई गौरवान्वित गरे। पहिला महिला कम्पाउण्ड टोलीले चीनलाई पराजित गरी स्वर्ण पदक जित्यो अनि केही समयपछि मिश्रित कम्पाउण्ड टोलीले दक्षिण कोरियालाई रोमाञ्चक शूटअफ-मा पराजित गरी स्वर्ण पदक हासिल गऱ्यो। साहिल राजेश जाधव र चिकिथा तनिपर्थीकी भारतीय जोड़ीले १५७-१५७-को बराबरीपछि शूटअफ-मा दक्षिण कोरियालाई २०-१९-ले पराजित गऱ्यो। यस जीतको साथ दुवैले २०२८ लस एञ्जिलिस ओलम्पिकको निम्ति पनि क्वालीफाई गरे। दिनको शुरुवात भारतको निम्ति महिला कम्पाउण्ड टीमको स्वर्णको साथ भयो। ज्योति सुरेखा, पृथिका प्रदीप र चिकिथा तनिपर्थीकी भारतीय टोलीले फाइनलमा चीनलाई विश्व रेकर्ड स्कोरको साथ पराजित गरी स्वर्ण पदक जित्यो। भारतले फाइनलमा २३८ अंक बटुल्यो जबकि चीनले २३४ अंक मात्र बनाउन सक्यो। यसको केही घण्टा पछि चिकिथा फेरि स्वर्ण पदकको लड़ाइँमा ओर्लिन्। यसपाली उनका साथी साहिल राजेश जाधव थिए अनि प्रतिद्वन्द्वी टोली दक्षिण कोरिया थियो। भारत र दक्षिण कोरियाबीच फाइनल शुरुवातदेखि नै रोमाञ्चक रह्यो। चार राउण्ड र १६ शट्हरू पछि दुवै टोलीको स्कोर १५७-१५७-को बराबरीमा रह्यो। भारतीय जोड़ीले शुरुवातमा बढ़त हासिल गरे पनि खेलको दोस्रो हिस्सामा दक्षिण कोरियाई टोलीले पुनरागमन गऱ्यो। चौथो तथा अन्तिम राउण्डमा कोरियाई टोलीले ४० अंक हासिल गऱ्यो भने भारतीय टोलीले ३९ अंक मात्र बनाउँदा स्कोर बराबरीमा पुग्यो। त्यसपछि विजेताको फसेला शूटअफ-द्वारा गरियो। शूटअफ-मा पहिला चिकिथाले सटीक निशाना लगाएर परफेक्ट १० अंक हासिल गरिन्। त्यसपछि दक्षिण कोरियाकी धनुर्धरले पनि १० अंकको साथ जवाफ दिइन्। त्यसपछि पुरुष धनुर्धरहरूका पालो आयो अनि राजेश जाधवले पनि परफेक्ट १०-मा निशाना लगाए। दक्षिण कोरियालाई खेलमा कायम रहन १० अंक चाहिएको थियो तर टोलीका पुरुष धनुर्धरको तीर ९ अंकमा लाग्यो। यसरी भारतले शूटअफ २०-१९-ले जितेर स्वर्ण पदक हासिल गऱ्यो। यसको साथै राजेश र चिकिथाले २०२८ लस एञ्जिलिस ओलम्पिकको निम्ति कोटा पनि हासिल गरिन्। यसरी भारतीय जोड़ीले देशलाई स्वर्ण पदकको साथमा ओलम्पिक कोटा पनि दिलायो। कम्पाउण्ड आर्चरीलाई २०२८ लस एञ्जिलिस ओलम्पिकमा पहिलोपल्ट सामेल गरिएको छ। यसअघि चिकिथा तानिपर्थी, पृथिका प्रदीप र ज्योति सुरेखा वेन्नमकी भारतीय महिला टोलीले ओकाजाकी चुओ सोगो पार्क मल्टीपर्पस स्क्वायरमा चीनलाई २३८-२३४-ले पराजित गरी स्वर्ण पदक जित्यो। भारतको २३८-को स्कोर महिला कम्पाउण्ड टोली स्पर्धामा नयाँ विश्व रेकर्ड हो। यसअघि भारतले सेमिफाइनलमा दक्षिण कोरियालाई पराजित गरेको थियो। यसरी भारतीय महिला कम्पाउण्ड टोलीले आफ्नो एशियाई खेलहरूका स्वर्ण पदक सफलतापूर्वक रक्षा गऱ्यो। भारतले २०२३ हांगझोउ एशियाई खेलहरूमा धनुकाँड़मा रेकर्ड ९ वटा पदक जितेको थियो, जसमा ५ वटा स्वर्ण, २ वटा रजत र २ वटा काँस्य पदक सामेल थियो। धनुकाँड़मा बुधवार २ वटा स्वर्ण पदकको साथ जारी एशियाई खेलहरूमा भारतको स्वर्ण पदकको संख्या बढ़ेर ८ पुगेको छ।

About Author

Advertisement