द् क्वेस्ट: बालबालिकाहरूको सर्वाङ्गीन विकासमा सामाजिक अभियान बन्दै  

5

विन्टर क्याम्प सिजन-२  

टीआरआई समाचार  

खरसाङ: पाठशालाको छुट्टी निक्कै लामो दिन भएपछि छोराछोरीका लागि यो समय कसरी उपयोग गराउने भन्नेबारेमा सबै आमाबाबुलाई एउटै चिन्ता हुन्छl यस्तो छुट्टीको समयलाई सकारात्मक, सृजनात्मक बनाउनका लागि खरसाङमा ‘द् क्वेस्ट’ले बालबालिकाहरूका लागि शीतकालीन विदामा संचलन गरेको ‘विन्टर क्याम’लाई सामाजिक अभियानको रुपमा लिन सकिन्छl ‘द् क्वेस्ट’ले २७ जनवरीदेखि ४ फरवरीसम्म सप्ताहव्यापी रुपमा   ‘विन्टर क्याम्प’ सिजन-२ खरसाङको मोन्टभियट रोडमा आयोजना गरेको थियोl यसघि गत वर्ष १८ दिसम्बरदेखि २४ दिसम्बरसम्म पहिलो ‘विन्टर क्याम्प’ आयोजना गरेको थियोl पहिलो क्याम्प उत्कृष्ट रुपमा सफल भएपछि यो दोस्रो क्याम्प आयोजना गरिएको होl

छोराछोरीलाई नेपाली भाषा पढ्न प्रेरणा साथै उत्साह प्रदान गर्नुपर्ने आहवान   

हिजोआज मोबाइल फोन जस्ता आधुनिक उपकरणले मानिसलाई सँगै हुँदाहुँदै पनि एक्ला एक्लै बनाउँदै लगिरहेको छl बालबलिकाहरूलाई मोबाइलको प्रयोगबाट टाडो राखेर पुस्तक पढ्ने बानी बसाल्न, आत्मविश्वासी बन्न, आफ्नो अभिव्यक्ति उजागर गर्नसक्ने बनाउन, सिर्जनात्मक बन्न, मिलनसार हुन्, मानवमूल्य बुझाउन यस ‘विन्टर क्याम्प’को मूल उदेश्य रहेको छl सात दिनको यस ‘विन्टर क्याम्प’मा नानीहरूले यस्ता धेरै कुरा सिक्नसकेl ४ फरवरीको दिन खरसाङको थर्टी थ्री ड्रीम क्याफेमा ‘मिनी शो’ कार्यक्रम आयोजना गरेर सप्ताहव्यापी ‘विन्टर क्याम्प’ समापन गरियोl खरसाङका सुपरिचित समाजसेवक टीटी लामा प्रमुख आतिथ्यमा सम्पन्न भएको ‘मिनी शो’ कार्यक्रममा नानीहरूले विभिन्न कार्यक्रमहरूद्वारा आफ्ना प्रतिभा प्रदर्शन गरेl यसमा नानीहरूले कविता, वक्तृत्व, गीत साथै आफैले रचेका कविताहरू प्रस्तुत गरेl सात दिनको ‘विन्टर क्याम्प’मा आफूले पढेका हास्य पुस्तक कार्यक्रम पनि नानीहरूले नै संचलन गरेका थिएl सबैको अघि बोल्न, गीत गाउन हिच्किचाउने नानीहरू पूर्ण रुपमा आत्मविश्वासी बनेर आफ्नो प्रस्तुति दिन सक्षम भएका थिएl

आमाबाबु साथै विशिष्ट अतिथिहरूको उपस्थितिमा मिनी शो कार्यक्रममा बालबालिकाहरूले गायन, कविता वाचन, वक्तृत्व, र आफूले लेखेका कविताहरू वाचन गरे अनि आफूले सिर्जना गरेका कमिक्स पुस्तकहरूबारे पनि कुराकानी गरे। मुख्य अतिथि टीटी लामा र सुपरिचित शिक्षाविद श्रीमती सुमोना भट्टार्चायलेले सबै नानीहरूलाई सम्बोधन गरे। उनीहरूले नानीहरूलाई असल व्यक्ति बन्ने साथै पढ्नेबारेमा बताएl परम्परागत शैक्षिक वातावरणले उपलब्ध गराउन नसक्ने कुराहरू बालबालिकाले सिक्ने ठाउँ सिर्जना गर्नुपर्ने आवश्यकता महसुस गरेको द् क्वेस्टकी संस्थापक श्रद्धा छेत्रीले बताइन्। आफ्ना छोराछोरीहरूलाई नेपाली भाषा पढ्नका लागि प्रेरणा साथै उत्साह प्रदान गर्नुपर्ने आहवान उनले उपस्थित आमाबाबुहरूलाई गरिन्l उनले भनिन्, ‘प्रत्येक बालबालिका आत्मनिर्भर, आत्मविश्वासी र आफ्नो अभिव्यक्ति उजागर गर्नसक्ने हुनसक्छन्l’  सात दिनमा बालबालिकाहरूले अनुकूल वातावरणबाट धेरै सिक्न सके अनि अझ बढी एकअर्काबाट सिक्न सकेको उनले बताइन्। विन्टर क्याम्पले बालबालिकाहरूलाई सिक्न, अन्तरक्रिया गर्न, मिलनसार हुन् र रमाइलो गर्नका लागि सुरक्षित ठाउँ बन्ने उद्देश राखेको उनले बताइन्l

विन्टर क्याम्पमा दिनको शुरुवात स्ट्रेचिङ, नृत्य, र कसरतजस्ता शारीरिक क्रियाकलापबाट हुन्थ्यो। विशेष मार्गदर्शनमा ध्यानको माध्यमबाट विद्यार्थीहरूलाई कल्पना गर्न, प्रतिबिम्बित गर्न र अभिव्यक्त गर्न सहयोग गर्यो। यसमा ‘ह्युमन नट’, ‘हट पोटेटो’ र ‘साइमन सेज’ जस्ता खेलहरूले धैर्यता, टोली गठन, समस्या समाधान र सम्पर्कका मूल्यहरूबारेमा शिक्षा प्रदान गरेको थियो। सुधारात्मक शिक्षाविद दीपशिखा लामाले बालबालिकाहरूलाई स्वस्थ जोखिम लिने क्षेत्रहरू खोजी गर्न प्रोत्साहित गरिन्l उनीहरूलाई स्वतन्त्र रुपमा सामना गर्ने सीपहरूबारे बुझ्न साथै उनीहरूका भावनाहरूसँग जोडिनका लागि उनले प्रस्तुतिले सहयोग पुर्याउन सक्यो। अदवैता ब्याण्डका गायक अनन्तराज गुरुङले जीवन्त कथा सुनाउने सत्रहरू सञ्चालन गरेका थिएl मानुवमूल्यसित सम्बन्धित उनले सुनाएका कथाहरूले बालबालिकाहरूलाई भित्री छाप बसाल्ने गरी आकर्षित पार्नसकेको थियोl यसबाहेक उनीहरूमा पुस्तकहरू पढ्ने ईच्छा जागृत गराउन सक्यो। ‘दन्ते कथा’का कथाकार भास्कर थापाको शिक्षा प्रदायक रमाइलो संगीतमय शिक्षाले बालबालिकालाई गहिरो रुपमा  प्रभावित पार्नसक्यो। श्रद्धा छेत्रीद्वारा स्वरचित कविताले बालबालिकालाई आफ्नो मनपर्ने र भयको खोजी गर्न प्रोत्साहित गर्यो अनि  बालबालिकाले त्यसलाई कवितामा परिणत गरे। इभान फाउन्डेसनका प्रतिनिधिहरूले अन्तरक्रियात्मक सत्रमा सरसफाइसम्बन्धी सचेतनामूलक भिडियोद्वारा जागरुक गराए।

विन्टर क्याम्पको मुख्य आकर्षण पुस्तकालय क्षेत्र थियो, जहाँ बालबालिकाहरूका लागि रंगीन आकर्षक पुस्तकहरूको विभिन्न संग्रह थियो। श्रद्धा छेत्रीले भनिन्, ‘जब बालबालिकाहरूले पुस्तकहरू पढ्नका लैजान्थे अनि एकभन्दा बढी पुस्तक एकअर्कासित मागेर पढ्थे, त्यो अति नै आनन्दको क्षण थियो। कसै कसैले घरमा आफ्ना साना भाईबहिनीलाई पढ्नका लागि पुस्तकहरू लगेर दिए। यसले उनीहरुमा पढ्ने बानी बस्यो। हामी हाम्रा पुस्तकहरूको संकलन बढाउन चाहन्छौं, र हामीले सके जति सबै बालबालिकाको हातमा एउटा पुस्तक पुर्याउन चाहन्छौंl’ चहल इन्क्लुसिभ प्रेपरेटोरी, सिलगढीकी प्रधानाध्यापिका  श्रीमती लजेन के योल्मो विशेष अतिथिका रुपमा उपस्थित थिइन्l लाजेन के योल्मोले आमाबाबुका लागि प्रारम्भिक हस्तक्षेपमा मार्गदर्शन र परामर्श प्रदान गर्छिन्l उनले आधुनिक समयको अभिभावकत्व र वर्तमानमा बालबालिका हुर्काउनुको महत्त्व बारेमा अभिभावकहरूसँग खुबी रोचक सत्र प्रस्तुत गरिन्। कार्यक्रममा कञ्चनजङ्घा उद्धर केन्द्रका सदस्य पनि उपस्थित थिए। द् क्वेस्टले अब छिट्टै यस्ता थप गतिविधिहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ, जसले बालबालिकाको समग्र विकासमा सहयोग गर्नेछ।

About Author

Advertisement