गङ्गा जल सन्धिमा नयाँ सम्झौताको अडान त्याग्दै भारतसँग आशा
नयाँ दिल्ली: ३० वर्ष पुरानो भारत–बङ्गलादेश गङ्गा जल बाँडफाँड सन्धिको म्याद आगामी १२ डिसेम्बर, २०२६ मा समाप्त हुन लागेसँगै बङ्गलादेशको अडानमा नरमी देखिएको छ। सन्धि समाप्त हुन करिब दुई साता मात्र बाँकी रहँदा नयाँ सम्झौताको मागमा अडिग रहँदै आएको ढाकाले अब भने पुरानै सन्धिको नवीकरणका लागि भारतको शीर्ष राजनीतिक नेतृत्वतर्फ आशाको नजरले हेर्न थालेको छ।
१२ डिसेम्बरमा गङ्गा जल सन्धि सकिनु र त्यसको ठीक चार दिनपछि अर्थात् १६ डिसेम्बरमा बङ्गलादेशको विजय दिवसको अवसर पारेर भारतमा शरण लिइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका फर्कने घोषणा गर्नुले बङ्गलादेश सरकार दोहोरो दबाबमा परेको विश्लेषकहरूको ठहर छ।
के चाहन्थ्यो बङ्गलादेश, किन बदलियो रुख?
यसअघि ढाकाले सुक्खा मौसममा पाउने पानीको न्यूनतम हिस्सा सुनिश्चित हुने ‘ग्यारेन्टी क्लज’ (गारन्टीको सर्त) सहितको नयाँ सम्झौता चाहेको थियो। साथै, यस विषयमा वार्ता गर्न भारतले छुट्टै प्राविधिक समिति गठन गरोस् भन्ने उसको माग थियो। बङ्गलादेशले गत जुन २०२६ मै १० सदस्यीय उच्चस्तरीय प्राविधिक समिति गठन गरी भारतलाई जानकारी गराएको थियो।
तर, भारतले सुरुदेखि नै सीमापारका ५४ वटा नदीसम्बन्धी विवाद समाधानका लागि सन् १९७२ मा स्थापित ‘संयुक्त नदी आयोग’ (जेआरसी) नै पर्याप्त र आधिकारिक संयन्त्र भएको स्पष्ट अडान राख्दै आएको छ। बङ्गलादेशमा तारिक रहमान प्रधानमन्त्री बनेयता भारतसँगको कूटनीतिक सम्बन्धमा देखिएको चिसोपनाका कारण पनि भारतले यस विषयमा हतारो नदेखाएको रक्षा विश्लेषक लेफ्टिनेन्ट कर्नल (अवकाशप्राप्त) जेएस सोढी बताउँछन्।
हालै ढाकामा सम्पन्न ‘भारत–बङ्गलादेश संयुक्त समिति’ को ९१औँ बैठकमा बङ्गलादेशी पक्षले सन् २०२६ को वार्षिक कार्यान्वयन प्रतिवेदनलाई अन्तिम रूप दिँदै नयाँ सम्झौताको जिद्दी छाडेर सन्धि नवीकरणको बाटो खुला राख्ने सङ्केत दिएको छ। बङ्गलादेशका जलस्रोतमन्त्री शाहिदुद्दिन चौधरी एनीले कूटनीतिक माध्यममार्फत भारतीय समकक्षीलाई पत्र पठाउँदै म्याद सकिनुअघि नै औपचारिक वार्ता सुरु गर्न आग्रह गरेका छन्।
बिहार र पश्चिम बङ्गालको आफ्नै चासो
अर्कोतर्फ, भारतभित्रै बिहार र पश्चिम बङ्गालले भने वर्तमान स्वरूपमै सन्धि नवीकरण गर्न नहुने आवाज उठाएका छन्। जनता दल (युनाइटेड) का राष्ट्रिय कार्यकारी अध्यक्ष एवं राज्यसभा सांसद सञ्जय कुमार झाले सन् १९९६ को सन्धिले बिहारमा गम्भीर पर्यावरणीय र आर्थिक क्षति पुर्याएको भन्दै सन् २०५० सम्मको जल आवश्यकताको वैज्ञानिक आकलन गरेर मात्र नयाँ सम्झौता गरिनुपर्ने माग राखेका छन्। यस्तै, कोलकाता बन्दरगाहको जलमार्ग सुचारु राख्न फरक्का ब्यारेजबाट हुगली नदीतर्फ पर्याप्त पानी पठाउनुपर्ने पश्चिम बङ्गालको आफ्नै बाध्यता छ।
सन्धिको ऐतिहासिक पृष्ठभूमि
सन् १९९६ डिसेम्बर १२ का दिन नयाँ दिल्लीमा तत्कालीन भारतीय प्रधानमन्त्री एचडी देवगौडा र बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले ३० वर्षे गङ्गा जल बाँडफाँड सन्धिमा हस्ताक्षर गरेका थिए।
पश्चिम बङ्गालको मुर्शिदाबादस्थित फरक्का ब्यारेजमा गङ्गा नदीको पानी बाँडफाँडलाई नियमन गर्ने यो सन्धि हरेक वर्ष सुक्खा याम (१ जनवरीदेखि ३१ मेसम्म) लागू हुन्छ।
दुई देशबीच बग्ने ५४ वटा साझा नदीमध्ये औपचारिक जल बाँडफाँड सन्धि भएको गङ्गा एकमात्र नदी हो। आपसी सहमतिमा यस सन्धिलाई पुनः नवीकरण गर्न सकिने प्रावधान छ।





