देशको निम्ति खेल्दै मेस्सी-रोनाल्डोलाई पनि पराजित गर्ने सुनिल छेत्रीको बयान

IMG-20230709-WA0125.jpg

९ जुलाईः भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्री अहिले निक्कै चर्चामा रहेका छन्। उनको कप्तानीमा भारतीय टीमले हालै साफ फूटबल च्याम्पियनशीपको खिताब जित्यो। बेंगलुरुमा भएको च्याम्पियनशीपको फाइनलमा भारतले कुवैतलाई पेनल्टी शूटआउटमा पराजित गरेको थियो। साफ च्याम्पियनशीपमा भारतले नवौंपल्ट खिताब जितेको थियो। त्यसको ठीक अघि भारतले इण्टरकण्टिनेण्टल कप पनि जितेको थियो। यी दुवै टुर्नामेण्टमा टीमलाई च्याम्पियन बनाउनमा ३८ वर्षीय कप्तान सुनिल छेत्रीको महत्त्वपूर्ण भूमिका रहेको थियो। यसपाली भारतीय कप्तानले अझ एउटा बयान दिएको सबैको ध्यान आकर्षित गरेका छन्। सुनिलले बताएअनुसार, उनी आफ्नो देशको निम्ति खेल्दै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पनि पराजित गर्न सक्छन्। एउटा टेलिभिजन च्यानलसँग कुराकानीको क्रममा भारतीय कप्तानले भने, जब देशको निम्ति आफ्नो सर्वश्रेष्ठ दिने कुरा आउँछ, तब म मेस्सी र रोनाल्डोलाई पनि पराजित गर्न सक्छु। यी दुई महान खेलाड़ी हुन् अनि म उनीहरूलाई सम्मान गर्छु तर देशको निम्ति खेल्दै मैदानमा ओर्लिएपछि म सदा आफ्नो सर्वश्रेष्ठ दिन चाहन्छु।
आफ्नो ढल्दो उमेरबारे सुनिल छेत्रीले उनी अहिले असल अनुभव गरिरहेको बताए। उनले भने, अहिले म धेरै असल अनुभव गरिरहेको छु। अहिले म देशको निम्ति असल प्रदर्शन गर्न प्रेरित छु। मलाई असल अनुभव नभएको दिन खेल छोड़्नेछु तर यस्तो कहिले हुनेछ भन्ने मलाई थाहा छैन। उल्लेखनीय छ, भारतीय कप्तान सुनिल छेत्रीले अहिलेसम्म १४२ वटा अन्तर्राष्ट्रिय म्याच खेलेर ९३ गोल गरिसकेका छन्। अन्तर्राष्ट्रिय फूटबलमा उनी अहिले पोर्तुगलका रोनाल्डो र अर्जेण्टिनाका मेस्सी पछि तेस्रो सक्रिय सर्वाधिक गोलदाता हुन्। यस सूचीमा रोनाल्डो १२३ गोलको साथ शीर्ष स्थानमा रहेका छन्। मेस्सीको नाममा १०३ गोल रहेको छ।

About Author

Advertisement