देशकै सबैभन्दा ठूलो चोर दिल्ली पुलिसद्वारा पक्राउ, ५ हजारभन्दा बढी गाडी चोरीको आरोप

0-5000-car-theft

नयाँ दिल्ली: दिल्ली पुलिसले देशकै सबैभन्दा ठूलो कार चोरलाई पक्राउ गरेको दाबी गरेको छ। आरोपी अनिल चौहानमाथि ५ हजारभन्दा बढी गाडी चोरी गरेको आरोप छ। चौहानलाई दिल्ली पुलिसको विशेष कार्यदलले असमबाट पक्राउ गरेको हो। चौहानविरुद्ध कार चोरी बाहेक हत्या, हतियार ऐन र तस्करीका मुद्धा दर्ता रहेको बताइएको छ। अभियुक्त चौहान ९० को दशकदेखि अपराधिक संसारमा सक्रिय रहेको र उनीविरुद्ध लगातार मुद्दा चलिरहेको पुलिसले जनाएको छ। पुलिसका अनुसार अनिलविरुद्ध १८१ भन्दा बढी मुद्दा दर्ता छन्।

झण्डै २७ वर्षदेखि लगातार अपराध गर्दै आएका चौहानले ९० को दशकमा सबैभन्दा बढी मारुती ८०० कार चोरी गरेको र ती गाडी जम्मु कश्मीर, नेपाल र उत्तरपूर्वी राज्यमा पठाउने गरेको पुलिसले जनाएको छ। धेरै घटनामा दिल्ली पुलिससँगै पूर्वोत्तर राज्यहरूको पुलिसले पनि उनलाई विगतमा धेरै पटक पक्राउ गरिसकेको छ। अनिल चौहानले अपराधको संसारमा अपार धन कमाए र धेरै राज्यमा आफ्नो सम्पत्ति बनाए। उनको सम्पत्ति दिल्ली, मुम्बई र उत्तरपूर्वी राज्यका साथै नेपालमा फैलिएको छ। अनिलले तीन विवाह गरेका छन् र उनका ७ सन्तान छन्। सन् १९९० मा उनी दिल्लीको खानपुर क्षेत्रमा बस्थे र अटो रिक्सा चलाउने गर्थे। यहीँबाट अपराधको दुनियाँमा प्रवेश गरे र सवारीसाधन चोरी गर्न थाले। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् र आफ्नो नेटवर्क फैलाउन जारी राखे।

अचेल उनी हतियार तस्करीको काममा व्यस्त थिए। पुलिसका अनुसार अनिलले उत्तर प्रदेशबाट ल्याएर नागाल्याण्डका प्रतिबन्धित संगठनहरूलाई हतियार आपूर्ति गर्दै आएका थिए। हाल उनको साथबाट पुलिसले ६ थान पेस्तोल र २ वटा चोरीका गाडी बरामद गरेको छ। दिल्ली पुलिसले अहिले आतंकको कोणबाट पनि अनुसन्धान गरिरहेको छ। प्रतिबन्धित सङ्गठनलाई जसरी हतियार आपूर्ति गर्दै आएको थियो, त्यसबाट आतङ्ककारी समूहसँग पनि सम्बन्ध हुनसक्ने आशंका गरिएको पुलिसले यस अनुसन्धानको पछाडि कारण दिएको छ। अनिल असममा सरकारी ठेकेदार बने र स्थानीय नेताहरूलाई पनि सम्पर्क गरे। सन् २०१५ मा जब प्रवर्तन निर्देशनालयले अनिल चौहान र कांग्रेस विधायकविरुद्ध कारबाही गर्‍यो, दुवै पक्राउ परेका थिए। त्यसपछि अनिल ५ वर्ष जेलमा थिए। सन् २०२० अनिल जेलबाट बाहिर आएपछि फेरि अपराध गर्न थाले।

About Author

Advertisement