देवकोटा संघको आयोजनामा साहित्यिक सभा र ‘समय संवाद’ सम्पन्न

WhatsApp-Image-2024-06-06-at-17.38.48

सिलगढी: सिलगढी देवकोटा संघ, सिलगढीको साहित्य विभागको आयोजनामा साहित्यिक सभा साथै मासिक साहित्यिक कार्यक्रम ‘समय संवाद’ अनि भेटघाटको कार्यक्रम संघका उपाध्यक्ष विजय सुवेदीको सभापतित्वमा सोमबार (३ जून) सम्पन्न भयो। उल्लेखनीय छ, सिलगढी देवकोटा संघले साहित्यिक, सांस्कृतिक, शैक्षिक र सामाजिक सेवाका कार्यक्रमहरू निरन्तररूपमा गर्दै आइरहेको छ। सभामा संघको मुखपत्र ‘बाडुली’-का मूल सम्पादक अनि सम्पादक मण्डली, सल्लाहकारहरूमाझ बाडुलीको गहनता, प्रकाशनबारे चर्चा गरियो। मूल सम्पादक प्रा. डा. कृष्णराज घतानीले यसपालीको ‘बाडुली’ अझै स्तरीय बनाउने पहल सम्पादक मण्डलीले गर्नुपर्छ भन्ने विचार राखे। सल्लाहकार सतीश रसाइलीले पनि आफ्नो विचार राखे। संघले प्रत्येक महिना सम्पन्न गर्दै आइरहेको मासिक साहित्यिक कार्यक्रम सँगसँगै साङ्गीतिक, सामाजिक र सांस्कृतिक कार्यक्रम ‘समय संवाद’ संघ भवनमै सम्पन्न भयो। साहित्य संयोजिका देविका मंग्राती राईद्वारा आयोजित अनि सञ्चालित सभापश्चात् गीत, भजन, कविता वाचनहरू प्रस्तुत गरियो। अरूणा रूचालले सुन्दर भजन अनि अरूणा सिंह, ममता प्रधान छेत्री, बृजकमल राई र शारदा रायमाझीले गीतहरू प्रस्तुत गरे।

यस दिनको कार्यक्रममा मीरा गजमेर अरोरा, पार्वती देवान अनि श्याम प्रधानले कविता वाचन गरे। नारी विभागद्वारा आउँदो दिनहरूमा गरिने सेवाकार्यहरूबारे पनि चर्चा भयो। सिलगढी देवकोटा संघ नारी विभागको पहलमा आउँदो २९ जूनको दिन बिहान १० बजीदेखि रक्तदान शिविर आयोजन गरिने यसै सभामा निर्णय गरियोl रक्तदान शिविरमा रक्तदान गर्न इच्छुक दाताहरूलाई उपस्थित भइदिन अनुरोध गरिएको छ। सभामा उपाध्यक्ष देवराज शर्मा, सहसचिव सङ्गीत संयोजक श्यामकुमार प्रधान, लक्ष्मी शर्मा, गङ्गा शर्मा, देविकला सापकोटा, राधा प्रधान, नारी सहसंयोजिका रोहिता शर्मा, महेश प्रधान, प्रा. मेघनाथ छेत्री, गीता देवान, कार्तिक प्रधान आदि पदाधिकारीगण एवम् सदस्यहरू उपस्थित थिएल साथै सबैले आ-आफ्ना विचारहरू साझा गरे। प्रत्येक महिना तेस्रो साताको बुधवार आयोजन हुने ‘समय संवाद’ कार्यक्रममा स्कूल, कलेज तथा युनिभर्सिटीका विद्यार्थीहरूले पनि भाग लिन चाहे उनीहरूलाई स्वागत जनाइएको छ। यसबारेमा सिलगढी देवकोटा संघकी साहित्य संयोजिका देविका मंग्राती राईले जानकारी दिएकी छिन्।

About Author

Advertisement