दुर्गापूजाको अवसरमा टाटा पावर सोलारुफको ‘घर-घर सोलार’ अभियान

IMG-20261015-WA0096

बिना अग्रिम भुक्तानी छतमा सौर्य प्रणाली जडान गर्न सकिने

कोलकाता: टाटा पावर रिन्युयबल इनर्जी लिमिटेडअन्तर्गतको टाटा पावर सोलारुफले पश्चिम बंगालमा ‘घर-घर सोलार’ अभियान सुरु गरेको छ। यस अभियानमार्फत आगामी तीन वर्षमा राज्यका तीन लाख घरमा छतमा सौर्य ऊर्जा प्रणाली जडान गर्न प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। कम्पनीले घरपरिवारको आवश्यकताअनुसार एक किलोवाटदेखि १० किलोवाटसम्मका सौर्य प्रणाली उपलब्ध गराउने जनाएको छ।
दुर्गापूजाको अवसरमा सुरु गरिएको यस अभियानको उद्देश्य सौर्य ऊर्जालाई सहज, सुलभ र किफायती बनाउनु हो। यसअन्तर्गत छतमा सौर्य प्रणाली जडान गर्न अग्रिम भुक्तानी नगरीकनै वित्तीय सुविधा लिन सकिनेछ। साथै, सहुलियतपूर्ण मासिक किस्ता र लचिलो भुक्तानी विकल्प उपलब्ध गराइने कम्पनीले जनाएको छ।
पश्चिम बंगालमा आवासीय, व्यावसायिक तथा औद्योगिक क्षेत्रमा विद्युत्को माग बढ्दै गएको सन्दर्भमा कम्पनीले सौर्य ऊर्जाको प्रयोग विस्तार गर्ने योजना अघि सारेको हो। योग्य आवासीय ग्राहकले भारत सरकारको ‘प्रधानमन्त्री सूर्य घर: निःशुल्क बिजुली योजना’ अन्तर्गत सरकारी अनुदानसमेत प्राप्त गर्न सक्नेछन्।
योजनाअनुसार एक किलोवाट क्षमताको सौर्य प्रणालीमा ३० हजार भारतीय रुपैयाँ, दुई किलोवाटमा ६० हजार रुपैयाँ र तीन किलोवाट वा सोभन्दा बढी क्षमताको प्रणालीमा अधिकतम ७८ हजार रुपैयाँसम्म केन्द्रीय अनुदान उपलब्ध हुन सक्नेछ। अनुदान प्राप्त गर्न सम्बन्धित सरकारी नियम तथा सर्त पूरा गर्नुपर्नेछ।
सौर्य प्रणाली जडानमा लाग्ने प्रारम्भिक खर्च कम गर्न टाटा पावरले एरेम कम्पनीसँग सहकार्य गरी विशेष वित्तीय योजना ल्याएको छ। यस योजनामा शून्य अग्रिम भुक्तानी, मासिक किस्तामा भुक्तानी, लचिलो पुनर्भुक्तानी विकल्प तथा सौर्य बीमाको सुविधा समावेश छन्।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार ६० महिनाको अवधिका लागि एक किलोवाटको प्रणालीमा अनुदानअघिको मासिक किस्ता एक हजार ९६८ रुपैयाँ र अनुदानपछिको अनुमानित किस्ता एक हजार २१४ रुपैयाँ हुनेछ। त्यसैगरी, दुई किलोवाटको प्रणालीमा अनुदानपछिको मासिक किस्ता दुई हजार ४२७ रुपैयाँ, तीन किलोवाटमा तीन हजार ४५१ रुपैयाँ, पाँच किलोवाटमा पाँच हजार ९११ रुपैयाँ र १० किलोवाटमा १२ हजार ३०९ रुपैयाँ रहनेछ। यी रकम अनुमानित हुन् र लागू हुने अनुदान तथा अन्य सर्तअनुसार फरक पर्न सक्छन्। छोटो अवधिका किस्ता विकल्प पनि उपलब्ध हुन सक्ने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत आवासीय ग्राहकका लागि पाँच किलोवाट-घण्टादेखि ४० किलोवाट-घण्टासम्म क्षमताका ब्याट्री ऊर्जा भण्डारण प्रणाली उपलब्ध गराइनेछ। व्यावसायिक तथा औद्योगिक ग्राहकका लागि भने ६० किलोवाट-घण्टादेखि पाँच मेगावाट-घण्टासम्मका समाधान उपलब्ध हुनेछन्। यी प्रणालीले अतिरिक्त सौर्य ऊर्जा सञ्चय गरी आवश्यक समयमा उपयोग गर्न, ऊर्जा व्यवस्थापन सुधार गर्न र विद्युत् आपूर्तिको विश्वसनीयता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यसै अभियानको अर्को महत्त्वपूर्ण पक्ष ‘मेरो गाउँ, मेरो सोलार’ कार्यक्रम हो। पश्चिम बंगालका ग्रामीण तथा अर्धसहरी क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममार्फत जनचेतना अभिवृद्धि, स्थानीय सहभागिता र सामुदायिक पहललाई प्रोत्साहन गरिनेछ। यसबाट विकेन्द्रित सौर्य ऊर्जाका आर्थिक तथा वातावरणीय फाइदाबारे जानकारी फैलाउने कम्पनीको लक्ष्य छ।
टाटा पावरका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक डा. प्रवीर सिन्हाले दुर्गापूजाको अवसरमा पश्चिम बंगालमा ‘घरघर सोलार’ अभियान सुरु गर्न पाउँदा खुसी लागेको बताए। उनले सहज वित्तीय सुविधा र सरकारी अनुदानको उपयोगमार्फत परिवारलाई सौर्य ऊर्जा अपनाउन प्रोत्साहित गरिने उल्लेख गरे। उनका अनुसार यस अभियानले घरपरिवारलाई विद्युत् उत्पादन तथा उपयोगमा बढी नियन्त्रण प्रदान गर्नुका साथै विद्युत् खर्च र कार्बन उत्सर्जन घटाउन सहयोग गर्नेछ। आगामी तीन वर्षमा तीन लाख घरसम्म सौर्य ऊर्जा विस्तार गर्ने लक्ष्यले राज्यको स्वच्छ ऊर्जा रूपान्तरणलाई गति दिने उनको भनाइ छ।
कम्पनीका अनुसार पश्चिम बंगालमा हालसम्म चार हजार ४१३ वटा छतमा सौर्य प्रणाली जडान गरिएका छन्। ती प्रणालीको कुल क्षमता ११७.१७ मेगावाट-पिक रहेको छ। यसबाट वार्षिक करिब एक लाख ४० हजार टन कार्बन डाइअक्साइड उत्सर्जन रोक्न सकिने कम्पनीको दाबी छ।
३० सेप्टेम्बर २०२६ सम्म भारतभर टाटा पावर सोलारुफले पाँच लाख ७४ हजार ९४८ वटा छतमा सौर्य प्रणाली जडान गरिसकेको छ। ती प्रणालीको कुल स्थापित क्षमता ५.६७ गिगावाट-पिकभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
यसका अतिरिक्त, टाटा पावरले पश्चिम बंगालमा सार्वजनिक तथा अर्धसार्वजनिक गरी २०८ वटा विद्युतीय सवारीसाधन चार्ज गर्ने केन्द्र र छ हजार ३८० भन्दा बढी घरायसी चार्जर स्थापना गरेको जनाएको छ। कम्पनीले सौर्य ऊर्जा, ब्याट्री भण्डारण र विद्युतीय सवारीसाधन चार्जिङजस्ता समाधानमार्फत स्वच्छ ऊर्जा तथा वातावरणमैत्री यातायातको विस्तारमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

About Author

Advertisement