लागुऔषध, साइबर अपराध र सडक सुरक्षाबारे विद्यार्थीलाई प्रशिक्षण
सिलगढी: सिलगढी पुलिस कमिसनरेटको पहलमा मंगलबार स्थानीय ‘आइबी थापा नेपाली हाई स्कुल’ र ‘मार्गरेट इङ्लिस मिडियम हाई स्कुल’ मा एक विशेष सचेतना कार्यक्रमको आयोजना गरिएको छ। विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनी, साइबर अपराध र सडक सुरक्षाका विषयमा सचेत गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
पुलिस अतिरिक्त उप-आयुक्त (एडिसिपी) श्रीमती पूर्णिमा शेर्पाको नेतृत्वमा आयोजित यस कार्यक्रममा जङ्सन ट्राफिक गार्डका अधिकारी तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तरक्रियात्मक सत्रहरू मार्फत विद्यार्थीहरूलाई लागुऔषधको घातक असर, अनलाइन ठगी, फिसिङ र साइबर बुलिङ (इन्टरनेटमा हुने दुर्व्यवहार) जस्ता डिजिटल खतराहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो। साथै, सुरक्षित अनलाइन अभ्यासका उपायहरूबारे पनि विद्यार्थीहरूलाई बुझाइएको थियो।
यसैगरी, सडक सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक नियमको पालना, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग, तथा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिनका लागि आवश्यक कानुनी प्रक्रियाबारे विद्यार्थीहरूलाई सचेत गराइयो। पुलिसले युवा पुस्तालाई लागुऔषधमुक्त, साइबर-सुरक्षित र सडक दुर्घटनामुक्त समाज निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान समेत गरेको छ।










