खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको खरसाङ महकुमा समिति गठन गरिएको छ। दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको केन्द्रीय सभापति सुरज सुब्बाको विशेष उपस्थितिमा खरसाङ महकुमा समितिको तदर्थ समिति गठन गरिएको छ। उक्त खरसाङ महकुमा समितिको तदर्थ समितिमा सभापति दिपक प्रधान, उप सभापति डीके बम्जन, सचिव राजेन तामाङ, सह सचिव प्रकाश थापा, कोषाध्यक्ष देवपाल लामा, मुख्य सल्लाहकार फुर्बा लामा लगायत अन्य कार्यकारी सदस्यहरु चयन गरिएको छ। यसको साथै खरसाङ महकुमा समितिबाट तीनजना दिपक प्रधान, राजेन तामाङ र प्रवेस राईलाई केन्द्रीय समितिमा नियुक्त गरिएको छ। उक्त खरसाङ महकुमा समितिको तदर्थ समिति गठन भएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको केन्द्रीय सभापति सुरज सुब्बाले खरसाङमा गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठनको रुपमा रहेको दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको खरसाङ महकुमा समिति गठनको लागि खरसाङमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा नै दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन खरसाङ महकुमा समितिको तदर्थ समिति गठन गरिएको जानकारी गराएका छन्। उनले यो संगठनले चियाबारी श्रमिकहरुको हक र अधिकारको लागि काम गर्ने युनियन रहेको बताउँदै यो युनियन खरसाङमा मात्र होइन तर पहाडमा नै सबैभन्दा ठूलो युनियन रहेको बताएका छन्।





