राजकुमार राव शीर्ष भूमिकामा देखिने
नयाँ दिल्ली: भारतीय क्रिकेटका ऐतिहासिक कप्तान सौरव गांगुलीको जीवनीमा आधारित चलचित्र ‘दादा – द सौरव गांगुली स्टोरी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। गांगुलीको जन्मदिनको अवसर पारेर निर्माता कम्पनीले पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी सन् २०२७ को मे १४ मा प्रदर्शन (रिलिज) हुने घोषणा समेत गरेको छ।सार्वजनिक फर्स्ट लुक पोस्टरमा मुख्य अभिनेता राजकुमार रावलाई सौरव गांगुलीको ऐतिहासिक अवतारमा देखाइएको छ। सन् २००२ मा इङ्ल्यान्डविरुद्ध नेटवेस्ट ट्रफी जितेपछि लर्ड्स क्रिकेट मैदानको बाल्कोनीमा गांगुलीले जर्सी फुकालेर हावामा उडाएको त्यो अविस्मरणीय क्षणलाई पोस्टरमा उतारिएको छ। भारतीय क्रिकेट इतिहासकै सबैभन्दा साहसिक र यादगार मानिने उक्त पलले गांगुलीको कप्तानीमा सुरु भएको ‘बेखौफ’ र आक्रामक क्रिकेट युगको प्रतिनिधित्व गर्छ।यो चलचित्रले एक प्रतिभावान युवा क्रिकेटरदेखि भारतकै सबैभन्दा प्रभावशाली कप्तान बन्न सफल ‘दादा’ को सङ्घर्ष, दृढ इच्छाशक्ति र खेल जगतमा उनले ल्याएको आमूल परिवर्तनको कथालाई पर्दामा उतार्नेछ।विक्रमादित्य मोटवानेको निर्देशनमा तयार भइरहेको यस चलचित्रलाई लभ रञ्जन र अङ्कुर गर्गले निर्माण गरेका हुन्। गुलशन कुमार, भूषण कुमार, टी-सिरिज र डीबीएलको प्रस्तुति रहेको यो चलचित्र ‘लभ फिल्म्स’ को ब्यानरमा निर्माण भएको हो। लामो विदाको अवसर (एक्सटेन्डेड हलिडे विकेन्ड) पारेर यो चलचित्र विश्वभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउनेछ।









