दलसिंहपाड़ा किराँत राईहरुको साकेला भव्यरुपमा पालन

e0495bcc-6a8d-49e6-8086-7fc8c86ae727


कालचिनी- डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको आयोजनामा आईतबार कालचिनी खण्डको दलसिंहपाड़ा रणबहादुर बस्ती मेन रोड क्षेत्रमा साकेला (उँधौली) पर्व साथै समितिको रजत जयन्ती समारोह भव्यरुपमा सम्पन्न भयो।
उक्त अवसरमा बिहान राई जातिको माङपा/माङमाहरूद्वारा देवथानमा पारम्परिक पूजा औ कुलपितृ बुझाउने कार्य भएको थियो भने कार्यक्रमको अध्यक्षता केन्द्रिय समितिको सभापति जेठा राईले गरेको थियो। प्रमुख अतिथिमा सिक्किमबाट आएका मोहन दुङमाली राई र विशिष्ट अतिथिमा नेत्रमणि दुमी नेपालबाट रहेको थियो भने यसैगरी समारोहमा निमन्त्रणा पाएर आईपुगेका कालचिनी विधायक विशाल लामा एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई किराँत राईको परम्परा अनुसार फेटा खदा पहिराएर स्वागत गरीएको थियो।


कार्यक्रमको शुरुवात प्रमुख अतिथि र कार्यक्रम अध्यक्षको बाहुलीबाट पारुहाङ र सुम्निमाको तस्वीर माल्यार्पण र दीप प्रज्वलनबाट भएको थियो भने प्रमुख अतिथि र केन्द्रिय अध्यक्षको बाहुलीबाट क्रमैले राष्ट्रिय झण्डा र समितिको झण्डा उत्तोलन गरीएको थियो। कार्यक्रममा राष्ट्रिय गीत जन-गण-मन गीत पश्चात ज्ञात अज्ञात दिवंगत सदस्यहरूको स्मृतिमा एक मिनटको मौन धारण पालन गरईएपछि स्वागत सम्बोधन समितिको महासचिव प्रशान्त थुलुङले गरेको थियो। राई जातिको सिली गीत र नृत्यहरुबीच विविध कार्यक्रमबीच समारोहमा रजत जयन्ती विशेषांक पत्रिका सुम्निमाको पनि विमोचन गरीएको थियो।
विशेषगरी राई जातिले मान्ने उँधौली अर्थात साकेला पर्वको आयोजना किराँत खम्बु राईहरूलाई आफ्नो परम्परा र संस्कृतिप्रति एकजुटतामा ल्याउनलाई गरिएको र राईहरूको आफ्नै भाषा, परम्परा संस्कृति र साहित्यको विकास गर्ने उद्देश्यले डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको रजत जयन्ती पनि पालन गरिएको र आज पूर्व, मध्य र पश्चिम डुवर्सको प्रत्येक शाखाहरूबाट प्रायः हजारौँको संख्यामा प्रतिनिधिहरू आएको समितिको महासचिव प्रशान्त थुलुङ र आयोजक कमिटीको सभापति मंगलसिह राईले संयुक्त रुपमा जनाएका छन्।

About Author

Advertisement