दक्षिण कोरियाको संसदले मंगलबार कुकुरको मासुको खानु र बिक्रीमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ, जसले शताब्दीयौं पुरानो अभ्यासको अन्त्य गरेको छ। यो कदमले पशु कल्याणप्रति दक्षिण कोरियाको सामाजिक दृष्टिकोणमा आएको परिवर्तनलाई झल्काउँछ। नयाँ कानूनमा भनिएको छ, ‘यो कानूनको उद्देश्य पशु अधिकारको प्राप्तिमा योगदान पुर्याउनु होl’ यसले मानव र जनावरहरू बीचको सामंजस्यपूर्ण सहअस्तित्वलाई पनि बढावा दिन्छ। पछिल्ला केही वर्षदेखि दक्षिण कोरियामा कुकुरको मासु खाने कुराको आलोचना र विरोध दुवै भइरहेको थियो, त्यसपछि सरकारले यसलाई गैरकानूनी घोषणा गरेको छ।
कोरियालीहरू विश्वास गर्छन्, कुकुरको मासु खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। तर, युवाको सोच बिल्कुलै फरक छ र उनीहरु कुकुर मार्ने विपक्षमा छन्। अधिकांश युवा कोरियालीहरूले कुकुरहरूलाई परिवारको सदस्य मान्छन्, अनि कुकुरहरूलाई खाने र मार्ने कडा आलोचना गर्छन्। युवाहरुको विरोधका बीच राष्ट्रपतिले पनि कुकुर मार्न प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए। राष्ट्रपतिले कानुनको समर्थन गरेका थिए। राष्ट्रपति युन सुक येओल आफैं पनि पशु प्रेमी हुन्, जसले पहिलो महिला किम केओन हेसँग छवटा कुकुर र आठवटा बिराला पालेका छन्।










