इरानद्वारा वार्ता प्रस्ताव अस्वीकार
नयाँ दिल्ली: अमेरिका र इरानबीचको तनाव कम गराउने र मध्यस्थता गर्ने उद्देश्यका साथ तेहरान पुगेका पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिरले आफ्नो भ्रमण दुई दिनका लागि तय भए पनि एकै दिनमा छोट्याएर फर्कनु परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देशवाहकका रूपमा तेहरान पुगेका मुनिरले ल्याएका विशेष र गोपनीय प्रस्तावहरूलाई इरानी नेतृत्वले पूर्ण रूपमा अस्वीकार गरिदिएको छ। इरानले अमेरिकासँगको जुनसुकै सम्झौता वा तनाव कम गर्ने प्रक्रिया वासिङ्टनले पहिले इरानका सर्तहरू पूरा गरेमा मात्र निर्भर रहने स्पष्ट पारेको छ।
आफ्नो भ्रमणका क्रममा मुनिरले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग भेटवार्ता गरे पनि इरानका सर्वोच्च नेता आयातोल्लाह मोजाताबा खानेईसँग भेट गर्ने उनको प्रयास भने सफल हुन सकेन। इरानमा रणनीतिक तथा राष्ट्रिय सुरक्षाका अन्तिम र महत्त्वपूर्ण निर्णयहरू सर्वोच्च नेताबाटै हुने भएकाले यो भेट नहुनुलाई कूटनीतिक रूपमा मुनिरको ठूलो असफलताका रूपमा हेरिएको छ। साथै, इरानी सञ्चारमाध्यम ‘तेहरान टाइम्स’ ले पनि मुख्य पृष्ठमै मुनिर र पेजेश्कियानको फोटोसहित ‘जुआडीको दाउ इरानसामु आयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरी यस भ्रमणलाई अमेरिकी आर्थिक युद्धबाट सम्मानजनक बाटो खोज्ने प्रयासका रूपमा टिप्पणी गरेको छ। रणनीतिक जलमार्ग ‘होर्मुज स्ट्रेट’ को विषयमा पनि इरानले अमेरिकाले आफ्ना सर्तहरू नमानेसम्म पुरानै कडा अडान कायम राख्ने सन्देश दिएको छ।









