तेस्रो इन्डिया रिजर्भ बटालियनको स्थापना दिवस २०२६ भव्य रूपमा सम्पन्न

n70352675517728247257984597751566d1260b004eead10fe7201ba275937082c2ff9b5679042182d3ee5a

गान्ताेक: आज माङ्गलेस्थित मुख्यालयमा तेस्रो इन्डिया रिजर्भ बटालियन (आईआरबी) को स्थापना दिवस २०२६ भव्य रूपमा आयोजना गरिएको छ। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।
उक्त समारोहमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, क्याबिनेट मन्त्रीहरू, विधायकगण, डीजीपी अक्षय सचदेव लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै तेस्रो आईआरबीले १८ वर्षको सेवा सफलतापूर्वक सम्पन्न गरेको मा हार्दिक बधाई दिए। उनले पुलिस कर्मीहरूले प्रदर्शन गरेको भौतिक र सांस्कृतिक प्रस्तुतिहरूको प्रशंसा गर्दै यसले सिक्किम पुलिसको प्रतिभा, अनुशासन र प्रतिबद्धता को प्रतिबिम्ब प्रस्तुत गरेको बताए।


आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले माङ्गले मुख्यालयमा जिम्नेजियम हल, बहुउद्देश्यीय हल, स्विमिङ पुल र फायरिङ रेन्ज लगायत पूर्वाधार सुविधाहरू निर्माण गर्ने घोषणा गरे। साथै, सञ्चालन क्षमता सुदृढ गर्न ५५ वटा सवारी साधन पुलिस विभागलाई उपलब्ध गराइने, र ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने पनि उनले घोषणा गरे।
मुख्यमन्त्रीले पुलिस कर्मीहरूलाई आफ्नै निजी सवारी साधनमा पुलिस चिन्ह नराख्न सल्लाह दिए र आफ्नो अधिकारको दुरुपयोग नगर्न आग्रह गरे। उनले सिक्किमलाई देशकै कम अपराध दर भएको राज्य बनाएर राखेकोमा पुलिस विभागको प्रशंसा गरे र यस उपलब्धिका लागि राज्य पुलिसले राष्ट्रिय स्तरमा मान्यता पनि प्राप्त गरेको बताए।
सरकारले विभिन्न विभागहरूमा क्याडर समीक्षा गरिसकेको र बाँकी विभागहरूको लागि थप समीक्षा प्राथमिकताका साथ लिइने जानकारी मुख्यमन्त्रीले दिए। उनले कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधि अपनाउन पनि आग्रह गरे।


मुख्यमन्त्रीले सिक्किममा म्याराथनको बढ्दो लोकप्रियतालाई पनि प्रकाश पारे। यस्ता कार्यक्रमहरूले अन्तरराष्ट्रिय, राष्ट्रिय र स्थानीय सहभागीहरूलाई आकर्षित गर्ने, खेलकुद र फिटनेस प्रवर्द्धन गर्ने, युवा सहभागिता बढाउने र रोजगारीका अवसर सिर्जना गर्ने कुरामा पनि जोड दिए।

About Author

Advertisement