गोरुबथान: लामो समयदेखि तेक्वान्दो खेलमा समर्पित झापाका दुर्गा खवास दुईवटा प्रतिष्ठित राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय खेल मैदानमा भारतको प्रतिनिधित्व गर्दै पटक–पटक स्वर्ण पदक जितेर उत्कृष्ट प्रदर्शन गरेका खवासलाई उनको खेल कौशल र योगदानको कदर गर्दै यी सम्मान प्रदान गरिएको हो।
खवासलाई हालै ‘रविन्द्रनाथ टैगोर राष्ट्रिय एचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित गरिएको छ। त्रेतायुग फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा उनले तेक्वान्दो विधामा पुर्याएको विशिष्ट योगदान र अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका थुप्रै स्वर्ण पदकहरूको मूल्याङ्कन गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ।
यसैगरी, खवासले अर्को प्रतिष्ठित सम्मान ‘डा. ए.पी.जे. अब्दुल कलाम भिजनरी अवार्ड २०२६’ समेत प्राप्त गरेका छन्। समथारका छोरा दुर्गाले तेक्वान्दो खेललाई आफ्नो जीवनको लक्ष्य बनाएर लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका थिए। भारतको तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई देशको शिर उच्च बनाएका उनलाई एकैसाथ दुईवटा राष्ट्रिय पुरस्कार मिल्नुले खेल जगतमा खुसीयाली छाएको छ।











