तीस प्रतिशत जमीनको कुरालाई विधानसभामा विधायक बीपी बजगाईले जनाए विरोध

IMG-20250217-WA0187

खरसाङ: पश्चिम बङ्गाल विधानसभामा खरसाङका विधायक बीपी बजगाईले नौ मिनटको सम्भाषणमा पहाडको विभिन्न मुद्दाहरु लगायत चियाबारी र अन्य विषयहरुमा कुरा उठाएका छन्। विधायक बीपी बजगाईले विधानसभामा विशेष गरेर तीनवटा विषयहरु राखेका छन्। पहिलो, चिया बगानको तीस प्रतिशत जमीन अन्य उद्योगलाई दिने विषयमा विरोध अनि लिमिटेसन एक्ट अनुसार जमीन दिइनुनपर्ने अडान विषयमा आफ्नो सम्भाषणमा कुरा राखेका छन्। त्यसरी नै दोस्रोमा खस समुदायलाई लगाइएको लान्छना अनि धेरैवटा एफआईआर भए तापनि अहिलेसम्म विशेष व्यक्ति पक्राउ नपर्नु अनि तेस्रो होम स्टेलाई बिजनेस स्टे नबनाउन सरकारलाई आग्रह गरेका छन्। विधायक बीपी बजगाईले दार्जिलिङको चियापत्ती प्रतिकिलो ४ लाख ३३ हजार गरेर बिक्री भएको उल्लेख गर्दै दार्जिलिङ चिया उद्योगमा नयाँ विश्व रेकर्ड स्थापना भएको जानकारी सदनलाई दिएका छन्। उनले यसको साथै यस्तो महंगो दरमा बिक्री हुने चिया उत्पादन हुने दार्जिलिङको चियाबारीको ३० प्रतिशत जमीन बिजिनेसको लागि दिने कुराको विरोध जनाएका छन्। विधायक बीपी बजगाईले राज्यपालको सम्भाषणमा बंगाल बिजिनेस समीटको उल्लेख गरिएको तर त्यही समीटमा मुख्यमन्त्रीले चियाबारीको तीस प्रतिशत जमीन बिजिनेसको लागि दिइने घोषणाको कुनै चर्चा नभएको भन्दै विरोध जनाएका छन्। उनले भनेका छन् -‘गोर्खा जातिको मेहनत र परिश्रमले दार्जिलिङ पहाडको चियाबारी उद्योग फस्टेर गएको साथै चियाबारीको उन्नति भएर गएको छ। चियाबारी भूमिलाई उब्जाऊ र समृद्धिको बाटोमा लानुको लागि अनि दार्जिलिङको चियालाई विश्व प्रसिद्ध बनाउन गोर्खाहरुले महत्वपूर्ण योगदान दिएका छन्। उनीहरुको मेहनत र परिश्रमले दार्जिलिङ चियाले आकार पाएको हो।‌ त्यसैले चियाबारी श्रमिकहरुले भूमिको अधिकारको मान्यता पाउनुपर्छ। म सरकारसित चियाबारी श्रमिकहरुको न्याय सुनिश्चित गर्ने मांग गर्दछु।’
विधायक बीपी बजगाईले राज्यपालको सम्भाषणमा बंगाल राज्यमा कानुन व्यवस्था ठीक रहेको कुरालाई विरोध जनाउँदै भने, जुन राज्यमा विधायक स्वयंम सुरक्षित छैन भने साधारण जनता कसरी सुरक्षित हुन्छ। दार्जिलिङ जिल्लामा मात्र एकजना व्यक्ति जसको विरुध्द १०-१२ एफआईआर भईसकेको छ पनि पक्राउ गरिएको छैन।‌ ती व्यक्तिको नाम उल्लेख नगरीकन भन्न चाहान्छु कि एकजना व्यक्तिले जातीय दंगा र विभेद ल्याउने भिडियो सार्वजानिक गरेर खसहरुलाई विदेशी ब्राह्मण बताएका छन्।‌’
विधायक बीपी बजगाईले सरकारलाई अनुरोध गर्दै भने, ‘पहाडमा होमस्टे पट्टामा होम स्टे केवल होम स्टे नै रहनुपर्छ तर बिजिनेस स्टे हुनु हुँदैन।’

About Author

Advertisement