खरसाङ: खरसाङको तीनधारेमा ९ दिवसीय संगीत श्रीमद भागवत देवी महापुराणको समापन भएको छ। तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा कलश यात्रासितै ९ दिवसीय श्रीमद भागवत देवी महापुराण गत २७ जनवरीदेखि शुरु भएको थियो। उक्त संगीतमय महापुराणमा लगातार रूपमा कथा वाचन र संगीतमय भजन कीर्तनको कार्यक्रम अायोजना गरिएको थियो। उक्त ९ दिवसीय श्रीमद भागवत देवी महापुराणमा मुख्य वाचकको रूपमा उमेश चापागाईं, उप वाचकको रूपमा कमल दाहाल, गणेश गुरुजीमा प्रेमप्रसाद उपाद्यय, संगीतकारमा लक्ष्मण काँफ्ले, टबलामा जयदीप बरूवा, बाँसुरीमा सुरेन सुब्बा, प्याडमा रोमन राई रहेको जानकारी प्राप्त भएको छ। उक्त श्रीमद भागवत देवी महापुराणको अन्तिम दिन पूर्णावतीसितै समाप्त भएको जानकारी तीनधारेबाट बिनय छेत्रीले दिएका छन्। उनले बताए अनुसार उक्त पूर्णावतीको दिन मुख्य अतिथिको रूपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा क्षेत्रीय सभासद नवराज छेत्री र घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान उपस्थित रहेका थिए।

यस ९ दिवसीय संगीतमय श्रीमत् देवी भागवत महापुराणमा तीनधारे र यसको वरिपरि साथै तीनधारेदेखि बाहिरका भक्तजन पनि उपस्थित रहेका थिए। यस ९ दिवसीय संगीतमय श्रीमत् भागवत देवी महापुराणमा सहयोग गर्ने सबैप्रति बिनय छेत्रीद्वारा आभार प्रकट गरिएको छ।









