तीनधारेमा ६ दिवसीय बौध्द धर्म अनुष्ठान दुई छ्या ञ्युङ्नेको समापन

IMG-20221225-WA0297.jpg

खरसाङ: तीनधारेमा 6 दिवसीय बौध्द धर्म अनुष्ठान दुई छ्या ञ्युनेको समापन भएको छ। बौद्ध धार्मिक परम्परा अनुसार ञ्युङने(उपोषध ब्रत) बाट आध्यात्मिक लाभ हुने बौद्ध धर्मावलम्बीहरुमा एउटा दृढ बिश्वास रही आएको छ। सोही धारणालाई आत्मसात गर्दै गुरु मैत्री संघ तीनधारेको आयोजनामा तथा आमन्त्रित कालेबुङ निवासी धर्म गुरु तथा ञ्युङने प्रमुख लाकपा बम्जन म्हेम्हेको धार्मिक अगुवाईमा स्थानीय पद्मा छ्योलिङ गुम्बा मिठाईडाँडा नजिक गुम्बा परिसरमा अवस्थित प्रगति संघ सार्वजनिक भवनमा सम्पन्न भएको छ। गत १९ दिसम्बर सोमबारदेखि २४ दिसम्बर शनिबार २०२२ को दिन सम्म सम्पन्न ६ दिवसीय दुई छ्या ञ्युङने उपवास शनिबारको दिन समापन भएको छ। समापन समारोह दिवसमा सखारै बिहान ४:२० देखि थालिएको पूजामा ५-५:३० मा मौन भंग गरिएपछि ६:०० बजेदेखि विधिवत् धार्मिक समापन पूजा गरियो। उक्त समापन दिवसको धार्मिक अनुष्ठानमा ञ्युङने प्रमुख धर्म गुरु बम्जनले ञ्युङने सम्बन्धी लाभान्वित पक्षहरू राख्दै बौद्ध धर्म सन्दर्भमा सारगर्भित दिव्य प्रवचन पनि राखेका थिए। उनकै बाहुलीबाट भक्तजनलाई वाङ अभिषेक पनि प्रदान गरियो। संघका सचिव लामा साङे योञ्जनले उपरोक्त दुई छ्या ञ्युङनेमा सहयोग पुर्‍याउने भक्तजन दाता महानुभवहरुमा समतुल्य रुपमा धन्यवाद ज्ञापन गर्दै संघको पक्षबाट धर्म गुरु बम्जनलाई खदा अर्पण गरी स्मृति चिन्हको रुपमा कुसुम मण्डल अर्पण गरियो। तीनधारे वरिपरि लगायत नयाँ कमान, घैयाबारी, चुनभट्टी, कोप्चे गाउँ, महानदी, रोहिणी, सिलगढी, कदमतला तथा विभिन्न क्षेत्रबाट आएका उपासक उपासिकाहरुको सहभागिता रहेका उक्त समापन समारोहमा म्हाणीपा संघ तीनधारे, नयाँ कमानका पदाधिकारीवर्ग लगायत अखिल भारतीय तामङ बौद्ध संघ एवं तामङ बौद्ध संघ तीनधारेका पदाधिकारी वर्गका विशेष उपस्तिथि रहेको थियो भने संघका सभापति अनित स्याङदेनले सबैमा आभार प्रकट गर्दै समापन समारोहको समाप्तिको घोषणा गरेको जानकारी संघका प्रचार प्रसार सचिव रबिन राज तामङ (घिसिङ)ले दिएका छन्।

About Author

Advertisement