गान्तोक: राज्यको एक मात्र चिया बगान तिमी चियालाई लण्डनमा ग्रेट टेस्ट टी अवार्ड २०२२ प्राप्त भएको छ। गिल्ड अफ् फाइन फूडद्वारा लण्डनमा आयोजित चिया प्रतियोगितामा तिमी चियाले उपरोक्त अवार्ड हासिल गरेको हो। तिमी टी-को फस्ट फ्लस प्रतियोगितामा उपाधिको दावीदार रहेको थियो। यस चिया प्रतियोगितामा विश्वभरिका प्रीमियम टी ब्राण्डहरूले अंशग्रहण गरेको थियो जहाँ ५०० भन्दा अधिक विशेषज्ञहरूले चियाहरूको स्वादको टेस्ट लिएका थिए। चियाको आकार, टी लिक्वर अनि चियाको स्वादद्वारा त्यसको मूल्याङ्कन गरिएको थियो। तिमी चियाले आफ्नो अद्वितीय स्वादले गर्दा विश्वभरिको चिया ब्राण्डको प्रतिस्पर्धामा ग्रेट टेस्ट टी अवार्ड २०२२ उपाधि हत्याउन सफल बनेको छ।









