कोलकाता: कोलकाताको तारातला इलाकामा बुधबार एउटा कारखानाको छत भत्किँदा तीन जना मजदुरको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि पश्चिम बङ्गला सरकारले कडा कदम चालेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाता नगर निगम क्षेत्रभित्र चलिरहेका सबै निर्माण कार्यहरूलाई आगामी जुलाई ३१ सम्मका लागि तत्काल रोक्न निर्देशन दिनुभएको छ। अघिल्लो सरकारको पालामा स्वीकृति पाएका निर्माण परियोजनाहरूको समेत पुनः जाँच गरिने मुख्यमन्त्रीले बताउनुभएको छ।
मुख्य सचिवको नेतृत्वमा कोलकाता नगर निगम, लोक निर्माण विभाग (पीडब्ल्यूडी), सिभिल डिफेन्स, दमकल र प्रहरीसहितको एउटा विशेष अडिट टोली गठन गरिनेछ, जसले निर्माण स्थलहरूको सुरक्षा मापदण्ड जाँच गर्नेछ। प्राविधिक त्रुटि नपाइएका आयोजनाहरूलाई आगामी अगस्ट १ देखि पुनः काम सुरु गर्न अनुमति दिइनेछ। अस्पताल र अत्यावश्यक सेवाका निर्माण कार्यलाई भने यस रोकबाट छुट दिइएको छ। प्रारम्भिक रिपोर्ट अनुसार तारातला आयोजनाको निर्माण योजनामै त्रुटि देखिएको र घाइतेहरूको एसएसकेएम अस्पतालमा उपचार भइरहेको जनाइएको छ।











