तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित राख्न नसकिए पनि प्रभाव न्यूनीकरण गर्न तत्काल कदम चाल्न गुटेरेसको आग्रह

8be23d4c-fb28-48e1-8480-66bb61e0ae17

अन्ताल्या(तुर्की): संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न कठिन देखिए पनि यसको अवधि छोट्याउन र विनाशकारी प्रभाव न्यूनीकरण गर्न हरितगृह ग्यास उत्सर्जनमा तत्काल र व्यापक कटौती गर्नुपर्नेमा जोड दिएका छन्।
तुर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को अन्तिम पत्रकार सम्मेलनमा सम्बोधन गर्दै महासचिव गुटेरेसले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब छ प्रतिशतका दरले हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) अन्तर्गत विभिन्न देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म विश्वको औसत तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम कायमै छ।
“हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, त्यसलाई छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई जतिसक्दो छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो”, उनले भने।
तापक्रम वृद्धिको सीमा अस्थायी रूपमा नाघ्दा पनि त्यसले अहिले नै देखिएका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने चेतावनी दिँदै गुटेरेसले जलवायु न्यायको आवश्यकता झन् बढेको बताए।
उनले विशेषगरी विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन तथा हानि र नोक्सानी सम्बोधनका लागि पर्याप्त वित्तीय सहयोग उपलब्ध गराउन विकसित देशसँग आग्रह गरे। विगतका कोप सम्मेलनमा गरिएका वित्तीय प्रतिबद्धता पूरा गर्नु विकसित राष्ट्रहरूको दायित्व भएको उनको भनाइ थियो।
“अनुकूलनका लागि उपलब्ध गराइने वित्तीय सहयोग तीन गुणा बढाउँदा पनि आवश्यक रकमको ३० प्रतिशतभन्दा कम मात्र पूरा हुनेछ”, उनले स्पष्ट पारे।
महासचिव गुटेरेसले जीवाश्म इन्धनलाई जलवायु संकटको प्रमुख कारकका रूपमा उल्लेख गर्दै त्यसबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिर निस्कन विश्वव्यापी ऊर्जा रूपान्तरणलाई तीव्रता दिनुपर्ने बताए।
जीवाश्म इन्धनमाथिको निर्भरताले देशहरूलाई मूल्यवृद्धि, भूराजनीतिक तनाव र आपूर्ति अस्थिरताको जोखिममा पार्ने भएकाले आपूर्तिकर्ता परिवर्तन गर्नुभन्दा निर्भरता नै घटाउनु महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। यसका लागि स्वच्छ ऊर्जा उत्पादन, विद्युत् प्रसारण सञ्जाल, ऊर्जा भण्डारण, ऊर्जा दक्षता तथा स्वच्छ विद्युतीकरणमा व्यापक लगानी र विस्तार आवश्यक रहेको उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी शान्ति, विकास, मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने धारणा राखे। जलवायुजन्य विपद्ले भोकमरी, विस्थापन, गरिबी, ऋणको भार तथा प्राकृतिक स्रोतसाधनका लागि प्रतिस्पर्धा बढाउँदै विश्वव्यापी अस्थिरता निम्त्याइरहेको उनले बताए।
“जलिरहेको पृथ्वीमा शान्ति स्थापना गर्न सकिँदैन। जलवायु विपद्ले मानिसलाई पटक–पटक गरिबीमा धकेलिरहँदा गरिबी उन्मूलन गर्न पनि सकिँदैन”, उनले भने।
जलवायु संकट सिर्जना गर्न सबैभन्दा कम योगदान गरेका देश र समुदायले नै यसको सबैभन्दा बढी मार खेप्नुपरेको उल्लेख गर्दै गुटेरेसले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य र पर्याप्त वित्तीय सहयोग अपरिहार्य रहेको बताए।
कोप प्रक्रियालाई विज्ञानले देखाएको आवश्यकता र राजनीतिक प्रतिबद्धताबीचको दूरी कम गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिँदै उनले जीवाश्म इन्धनको पक्षमा काम गर्ने समूहको असमानुपातिक प्रभावलाई समेत सम्बोधन गर्नुपर्ने बताए।
उनले कोप–३० को अध्यक्षताले अघि सारेका जीवाश्म इन्धनबाट बाहिरिने सङ्क्रमण र वन विनाश अन्त्यसम्बन्धी मार्गचित्रलाई महत्त्वपूर्ण पहलका रूपमा उल्लेख गरे। त्यस्तै स्वच्छ विद्युतीकरण, विश्वव्यापी शून्य फोहोर प्रतिबद्धता, विद्युत् प्रसारण सञ्जाल विस्तार र सबैका लागि पूर्वसूचना प्रणालीको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
नवीकरणीय ऊर्जा प्रविधि र अर्थतन्त्रमा आएको परिवर्तनले स्वच्छ, सुरक्षित तथा भरपर्दो ऊर्जा भविष्य निर्माणको सम्भावना बढाएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा उतार्न राजनीतिक इच्छाशक्ति, साहस र तीव्र कार्यान्वयन आवश्यक रहेको बताए।
महासचिवका रूपमा आफ्नो करिब १० वर्षे कार्यकालको अन्तिम कोप सम्मेलनमा सहभागी हुँदै गुटेरेसले जलवायु परिवर्तनको सामना कुनै एक देशले एक्लै गर्न नसक्ने स्पष्ट पारे। संयुक्त राष्ट्रसंघले पूर्वसूचना प्रणाली, विद्युत् प्रसारण सञ्जाल, मिथेन उत्सर्जन न्यूनीकरण र महत्त्वपूर्ण खनिजलगायतका क्षेत्रमा कार्यान्वयनमुखी सहयोगलाई थप सुदृढ बनाएको पनि उनले जानकारी दिए।
“हामी एउटै पृथ्वी साझा गर्छौँ र हामीलाई मन परोस् वा नपरोस्, हाम्रो भाग्य पनि साझा छ”, उनले भने।
अन्ताल्याबाट बिदा हुँदै विश्व समुदायलाई अन्तिम सन्देश दिँदै महासचिव गुटेरेसले तथ्यको सामना गर्न, विज्ञानको अनुसरण गर्न, भविष्य रोज्न र निरन्तर प्रयासरत रहन आह्वान गरे।
“तथ्यको सामना गरौँ, विज्ञानको अनुसरण गरौँ, भविष्य रोजौँ र कहिल्यै हार नमानौँ”, उनले भने।
टर्किएको अन्ताल्यामा जारी कोप–३१ नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ।

About Author

Advertisement