गान्तोक: आर्चेरीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिरहेका सिक्किमे छोरा तरुणदीप राई बर्लिनमा आगामी आयोजन हुने विश्व च्याम्पियनशीप २०२३-को निम्ति भारतीय टोलीमा छनौट भएका छन्। आगामी ३१ जुलाईदेखि ६ अगस्तसम्म जर्मनीको राजधानी बर्लिनमा आर्चेरी विश्व च्याम्पियनशीप आयोजन हुनेछ। यसबारे तरुणदीप राई स्वयंले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत आफू आर्चेरी विश्वकपको निम्ति छनौट भएको जानकारी साझा गर्दै यसको निम्ति आफू तयार रहेको बताएका छन्। उनले २०२३-को न्यूयोर्क विश्व च्याम्पियनशीपदेखि लिएर २०२३-को बर्लिन विश्व च्याम्पियनशीपसम्म भारतीय आर्चेरी टोलीमा आफ्नो २० वर्षको यात्रा पूरा गरेको खुशी मनाए।
जानकारी गराइन्छ, २२ फरवरी १९८४-मा नाम्चीमा जन्मिएका आर्चर तरुणदीप राईले भारतीय टोलीको प्रतिनिधित्व गर्दै धेरै अन्तरराष्ट्रिय स्तरको आर्चेरी प्रतियोगिताहरूमा सहभागिता जनाउँदै धेरै पदक हत्याइसकेका छन्। उनले २०१०-मा दिल्लीमा आयोजित राष्ट्रमण्डल खेलमा व्यक्तिगत अनि टोली गरेर दुईवटा स्वर्ण पदक हत्याएका थिए। २०१४-को एशियन खेलमा उनले रजद पदक हत्याएका थिए भने २०२० टोक्यो ओलम्पिकमा पुरुष टोलीमा तरुणदीप राईले अतनु दास अनि प्रवीण यादवसँग मिलेर ऐतिहासिक काँस्य पदक हत्याइसकेका छन्। भारतीय आर्चेरीमा निरन्तर उत्कृष्ट प्रदर्शनी गर्ने आर्चर तरुणदीप राईलाई २०११-मा अर्जुन अवार्ड अनि २०२१-मा देशको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मान जनाइसकेको छ।









