डोह ङाग छोइ खोर्लिङ गुम्बाले गरे छेतर पूजाको आयोजना

n6142864821717433794183829205d5c82cc611701b0e0695f46fbff3fe4dd60f291a6e295e96e64a9c08d1.jpg

सिलगढ़ी: डोह ङाग छोइ खोर्लिङ गुम्बाले आज छेतर पूजाको आयोजना गऱ्यो। बौद्ध धर्म परम्परा अनुसार, छेतर पूजालाई आयु वरदान मानिन्छ। धार्मिक परम्परा अनुसार, नदीमा माछा दान गरेर आयु वरदानको पूजापाठ गरिन्छ।

यसै पूजा सम्पन्न गराउन आज सिलगडीको गुरूङ नगरमा अवस्थित उक्त गुम्बाबाट धर्मगुरूहरूको एउटा टोलीसँगै भक्तजनहरू गजलडोबा पुगेका थिए। गुम्बा सञ्चालन समितिका अध्यक्ष डीबी योञ्जनले आज सम्पन्न भएको पुजा बारे जानकारी दिँदै भने, ‘हाम्रो धर्ममा यो पूजा एकदमै महत्त्वपूर्ण छ। आयु वरदानको पूजा हामीले प्रत्येक वर्ष गर्दै आइरहेका छौँ। वरदानको लागि माछा दान गर्न हामी आज टिस्टा नदीमा आएका छौँ। यो नदी एतिहासिक साथै संस्कृतिक रूपमा पनि हाम्रो निम्ति महत्त्वपूर्ण छ।’

गुम्बाका धर्मगुरू लोपेन डेन्डुप शेर्पाको अगुवाइमा कुल सातजना लामाहरूले गजलडोबा परिसरमा बिहानैदेखि पुजापाठ सुरू गरेका थिए। धार्मिक नियम अनुसार पूजापाठ सम्पन्न भएपछि लामासाथै उपस्थित भक्तजनहरूले क्रमैसँग नदीमा माछा दान गरे। उक्त पूजामा सिलगढी लगायत विभिन्न स्थानहरूबाट सयौँ भक्तजनहरूको उपस्थित रहेको थियो।

About Author

Advertisement