वाशिङ्टन: अमेरिकी प्रतिनिधिसभाका डेमोक्र्याट सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रक्रिया सुरु गर्न २५औं संवैधानिक संशोधन अन्तर्गत विशेष आयोग गठन गर्ने विधेयक पेश गरेका छन्।
यो प्रस्ताव अनुसार उपराष्ट्रपति जे.डी. भान्ससँग मिलेर १७ सदस्यीय ‘राष्ट्रपतिको पदीय शक्ति तथा कर्तव्य निर्वाह क्षमताको मूल्यांकन आयोग’ गठन गरिनेछ, जसले राष्ट्रपति ट्रम्पको मानसिक तथा शारीरिक क्षमताको मूल्यांकन गर्नेछ।
विधेयक हाउस जुडिसियरी समितिका र्याङ्किङ सदस्य जेमी रस्किनद्वारा मङ्गलबार प्रस्तुत गरिएको हो। यसमा ५० भन्दा बढी डेमोक्र्याट सांसदहरूको सह-प्रायोजन रहेको छ।
आयोगको संरचना र कार्य:
प्रस्तावित आयोगमा पूर्व उच्च कार्यकारी पदाधिकारी, चिकित्सक, मनोचिकित्सक तथा एक अध्यक्ष रहने व्यवस्था गरिएको छ। यी सबै सदस्यहरू वर्तमान सरकारी पदमा नरहेका व्यक्तिहरू हुनेछन्।
आयोगले २५औं संशोधनको धारा ४ अनुसार राष्ट्रपति आफ्नो जिम्मेवारी निर्वाह गर्न असमर्थ छन् वा छैनन् भन्ने निष्कर्ष दिनेछ। यदि उपराष्ट्रपति भान्सले आयोगको निष्कर्ष स्वीकार गरेमा उनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।
यदि विवाद उत्पन्न भएमा २१ दिनभित्र अमेरिकी प्रतिनिधिसभा र सिनेटमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ।
डेमोक्र्याटहरूको आरोप:
प्रस्तावमा ट्रम्पका हालैका अभिव्यक्ति र व्यवहारलाई आधार बनाइएको छ। सांसदहरूले ट्रम्पका इरानसम्बन्धी कडा चेतावनी, सामाजिक सञ्जालमा विवादित सामग्री तथा विदेश नीतिसम्बन्धी टिप्पणीलाई राष्ट्रिय सुरक्षासँग जोडिएको विषय बताएका छन्।
जेमी रस्किनले भनेका छन् कि ट्रम्पको नेतृत्व क्षमतामाथि जनविश्वास गम्भीर रूपमा घटेको छ र यो विषय राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको दाबी गरेका छन्।
संभावना र राजनीतिक अवस्था:
विश्लेषकहरूका अनुसार रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभामा यो विधेयक पारित हुने सम्भावना अत्यन्त कम छ। हालसम्म कुनै पनि रिपब्लिकन सांसदले ट्रम्पको मानसिक अक्षमताबारे समर्थन गरेको सार्वजनिक रूपमा देखिएको छैन।
यसअघि पनि सन् २०२४ मा जो बाइडेनको कार्यसम्पादनलाई लिएर २५औं संशोधनको माग गरिएको थियो। तर अहिलेसम्म यस्तो प्रक्रिया कुनै पनि अमेरिकी राष्ट्रपतिविरुद्ध सफल भएको छैन।
व्हाइट हाउसले यस कदमलाई राजनीतिक स्टन्ट भन्दै अस्वीकार गरेको छ।








