डिजिटल स्वयं–गणना चरणसहित जनगणना २०२७ को सुरुवात

FB_IMG_1775044112958

गान्तोक: भारत सरकारको गृह मन्त्रालयले सिक्किमस्थित जनगणना सञ्चालन निर्देशनालयसँगको सहकार्यमा आज लोक भवनमा जनगणना २०२७ को पहिलो चरण सुरु गरेको छ। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल मथुरले जनगणना २०२७ को औपचारिक सुरुवात भएको जनाउँदै यो भारतको १६औँ जनगणना तथा स्वतन्त्रतापछिको आठौँ जनगणना भएको बताए। उनले अघिल्लो जनगणना सन् २०११ मा सम्पन्न भएको स्मरण गराउँदै यसपटकको जनगणना दुई चरणमा सम्पन्न गरिने जानकारी दिए। पहिलो चरणमा डिजिटल स्वयं–गणना, घर सूचीकरण तथा आवास जनगणना गरिनेछ भने दोस्रो चरणमा जनसंख्या गणना गरिनेछ।
उनले डिजिटल माध्यमको प्रयोगले नागरिकलाई सजिलो रूपमा आफ्ना विवरण बुझाउन सहयोग पुग्ने, कागजको प्रयोग घट्ने तथा जनसहभागिता बढ्ने उल्लेख गरे। साथै, जनगणनाबाट प्राप्त तथ्यांक स्वास्थ्य, शिक्षा, आवास, रोजगारी तथा सामाजिक सुरक्षाजस्ता क्षेत्रमा नीति निर्माणका लागि आधार बन्ने बताए।
राज्यका लागि यस अभ्यासको महत्वबारे प्रकाश पार्दै उनले जनगणनाले दुर्गम तथा सीमावर्ती क्षेत्रको योजना निर्माणमा सहयोग पुर्‍याउने र सिक्किमका विविध समुदायहरूको अवस्थाबारे मूल्यांकन गर्न मद्दत गर्ने बताए। उनले नागरिकलाई स्वयं–गणनामा सहभागी हुन, सही जानकारी उपलब्ध गराउन तथा गणनाकर्मीलाई सहयोग गर्न आग्रह गरे। जनगणना २०२७ को सफलता जनसहभागितामा निर्भर रहने भन्दै उनले यस अभियानले राज्य र देशभरि आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे।
यसअघि जनगणना सञ्चालन निर्देशनालयका निर्देशक कर्मा बोन्पोले स्वागत मन्तव्य दिएका थिए। उनले राज्यमा स्वयं–गणनाबाट जनगणना प्रक्रिया सुरु गरिएको जनाउँदै यस अभियानमार्फत नागरिकले डिजिटल माध्यमबाट आफ्ना विवरण उपलब्ध गराउन सक्ने बताए। साथै, जनगणनाले योजना तथा नीति निर्माणका लागि आवश्यक तथ्यांक संकलनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले आमसञ्चार माध्यमलाई जनचेतना अभिवृद्धि गर्न तथा जनसहभागिता सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरे। उनले जनगणनाले स्रोत–साधनको समान वितरण तथा विकास गतिविधिलाई मार्गदर्शन गर्ने पनि बताए।
कार्यक्रममा लोक भवनका सचिव जितेन्द्र सिंह राजे, एसएनटी विभागका आयुक्त–सह–सचिव राज यादव, आईपिआर विभागकी सचिव अन्नपूर्णा एली, प्रमुख जनगणना अधिकारी–सह–जिल्ला सङ्कलक गान्तोक तुषार निखारे, जिल्ला जनगणना अधिकारी–सह–एडीसी सिसुम वाङ्चुक भुटिया लगायत गृह विभाग, जिल्ला प्रशासन केन्द्र गान्तोक, जनगणना सञ्चालन निर्देशनालय तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सहायक निर्देशक तेजराम नेहरद्वारा प्रस्तुत धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो।

About Author

Advertisement