डा. सुचन प्रधानलाई सन् २०२६ को ‘डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार’ प्रदान गरिने

Screenshot_20260610_003641_Instagram

गान्तोक: कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राद्यापक डा. सुचन प्रधानलाई सन् २०२६ को प्रतिष्ठित ‘डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ। डा. शोभाकान्ति थेगिम स्मरक ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उक्त घोषणा गरेका हुन्। उक्त पत्रकार सम्मेलनमा ट्रस्टका ट्रस्टीद्वय डा. उदय छेत्री र जोसेफ लेप्चाको पनि उपस्थिति रहेको थियो।
​अध्यक्ष डुप छिरिङ लेप्चाका अनुसार, डा. शोभाकान्ति थेगिमको स्मृतिमा सन् १९९७ मा स्थापित यस ट्रस्टले सन् १९९८ देखि निरन्तर रूपमा पुरस्कार प्रदान गर्दै आएको छ। यो पुरस्कारको २९औँ संस्करण हो, जसका लागि गत वर्ष डिसेम्बर महिनादेखि मनोनयन आह्वान गरिएको थियो। त्यस क्रममा थुप्रै पुस्तकहरू प्राप्त भएका थिए।
​ट्रस्टको दुई स्तरीय चयन प्रक्रिया अपनाएर उत्कृष्ट तीनवटा पुस्तकहरू छानिएका थिए र अन्ततः छनोट समितिको अन्तिम मूल्याङ्कनका आधारमा डा. सुचन प्रधानको चर्चित कविता सङ्ग्रह ‘झ्यालिन्चा’ लाई यस पुरस्कारका लागि योग्य ठहर गरियो। पुरस्कारका लागि नाम चयन गरिसकेपछि ट्रस्टले पुरस्कार प्राप्तकर्ता डा. प्रधानबाट विधिवत् रूपमा स्वीकृति समेत लिइसकेको छ।
​ट्रस्टी जोसेफ लेप्चाले दिएको जानकारी अनुसार, यस पुरस्कारको औपचारिक घोषणा आज गरिएको भए तापनि पुरस्कार वितरण समारोह आगामी ४ जुलाईमा भव्य रूपमा आयोजना गरिनेछ।

About Author

Advertisement