डा. सरमान राईलाई पशुपाल विभागको सचिव बनाएकोमा भेटेनेरी एसोसिएशनले गऱ्यो सरकारप्रति आभार व्यक्त

si

गान्तोकः डाक्टर सरमान राईलाई राज्य पशुपालन एवं भेटेनेरी सेवा विभागको सचिव बनाएकोमा सिक्किम भेटेनेरी एसोसिएशनले सिक्किम सरकार र मुख्यमन्त्री पीएस तामाङप्रति आभार व्यक्त गरेको छ। शनिवार सिक्किम भेटेनेरी एसोसिएशनले एउटा प्रेस विज्ञप्ति जारी गरेर डाक्टर सरमान राईलाई विभागको सचिव बनाउने सरकारको निर्णयले सिक्किमका सम्पूर्ण पशु चिकित्सक र पशु चिकित्सा सेवाका पेशेवरहरू आफ्नो करियर प्रगतिको सम्भावना र पशु स्वास्थ्य सेवा साथै पशुपालनको समग्र विकासका लागि धेरै उत्साहित र आशावादी बनेको भन्दै सरकारको निर्णयलाई स्वागत जनाएको छ।

डाक्टर राई ३१ वर्षभन्दा अधिक काम गरेको अनुभव बोकेको विभागका वरिष्ठ प्राविधिक अधिकृत रहेका कारण उनको नियुक्तिसँगै सिक्किम भेटेनेरी एसोसिएशन राज्यका पशुपालन र कुखुरापालन किसानहरूको जीवनस्तर बढाउन सरकारद्वारा परिकल्पना गरिएका योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न नयाँ सचिवसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा बताइएको छ।

यसबाहेक, सिक्किम भेटेरिनरी एसोसिएसनले पशुपालन तथा भेटेनेरी सेवाका कर्मचारीको क्याडर रिभ्यू गरिदिएकोमा राज्य सरकारप्रति आभार व्यक्त गरेको छ। सिक्किम भेटेनेरी एसोसिएसनको कार्यकारी समितिले मन्त्री लोकनाथ शर्माको नेतृत्वमा विभागका निवर्तमान सचिव डा. पी. सेन्थिल कुमारले विभागलाई सफलताको उच्च स्तरमा पुऱ्याउन अनुकरणीय योगदान दिएको भन्दै उनको प्रशंसा गरेको छ।

About Author

Advertisement