डा. रविन छेत्री एनसीईआरटीको सदस्य नियुक्त

00-1-A-IMG-20230817-WA0136

नयाँ दिल्ली: सिक्किम सरकारको शिक्षा विभागका शिक्षण निदेशक डा. रविन छेत्रीलाई राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (एनसीईआरटी)को उच्चाधिकारयुक्त समितिमा मनोनीत गरिएको छ। राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् भारत सरकारद्वारा स्थापित संस्थान हो। विद्यालको शिक्षासित जोड़िएका विषयमा केन्द्रीय सरकार अनि क्षेत्रीय सरकारहरूलाई परामर्श दिने उद्देश्यले यसको स्थापना भएको थियो। यस परिषद्ले भारतमा स्कूली शिक्षासम्बन्धी सबै नीतिमाथि काम गर्दछ। यसका साथै शिक्षाका यावत् क्षेत्रमा शोधकार्यलाई सहयोग अनि प्रोत्साहित गर्नु, उच्च शिक्षामा प्रशिक्षणमा सहयोग गर्नु, स्कूलहरूमा शिक्षा पद्धतिमा ल्याइएका परिवर्तन र विकास लागु गर्नु पनि यसभित्र पर्दछ। केन्द्र सरकारले अधिसूचना प्रसारित गरीकन स्कूलको पाठ्यक्रममा संशोधन गर्न अनि नवीन एनसीईआरटी पाठ्यपुस्तक विकसित गर्ने प्रक्रियाको अन्तिम चरण थालनी गर्न उच्चाधिकार सम्पन्न समिति बनाएको छ। यस राष्ट्रिय पाठ्यक्रम तथा शिक्षण सामग्री समितिमा शिक्षाविद्, अर्थशास्त्री, वैज्ञानिक तथा विशेषज्ञ संलग्न छन्। यस समितिमा लेखक एवं परोपकारी सुधा मूर्ति, प्रधान मन्त्रीका आर्थिक परामर्शदाता परिषद् (ईएसी-पीएम)का अध्यक्ष विवेक देवराय, ईएसी-पीएमका सदस्य संजीव सन्याल, राष्ट्रिय स्वयम्सेवक विचारक चामू कृष्ण शास्त्री, गायक शंकर महादेवन आदि समाविष्ट छन्। यसरी एनसीईआरटीको यस समितिमा भारतका १९ विशिष्टजन समाविष्ट भएका छन्, तीमध्ये एकजना डा. रविन छेत्री हुन्। 

रसिक ग्राम धोबी तलाउ, दार्जीलिङमा जन्मी दार्जीलिङको विवेकानन्द प्राथमिक पाठशाला (सानो मिन्सिपल, कर्णेल भिल्ला), सन्त रोबर्ट्स विद्यालय, दार्जिलिङ सरकारी महाविद्यालय पढी उत्तर बङ्ग विश्वविद्यालयबाट एम. एस्सी. (भौतिकी) पीएचडी गरेपछि सिक्किम सरकारी महाविद्यालयमा अध्यापन गर्दागर्दै सिक्किम सरकारको शिक्षा विभाग (शिक्षण)बाट सेवा निवृत्त भएपछि पनि उनको कार्य-क्षमतालाई सम्मान गर्दै पुनर्नियुक्ति दिइएको थियो। अवकाशोत्तर पुनर्सेवाकालमा यिनले शिक्षाविषयक सुधार धारणाले भारत सरकारलाई प्रभावित गरेपछि यसपालि राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (एनसीईआरटी)को उच्चाधिकार सम्पन्न समितिमा सदस्य बनाइएको छ।

About Author

Advertisement