डब्ल्युबीसीएसद्वारा नेपाली भाषाको परीक्षाहरूमा वैकल्पिक विषयको रूपमा समावेश गरेकोमा अनित थापाद्वारा मुख्यमन्त्रीलाई आभार प्रकट

FB_IMG_1750344186333

दार्जिलिङ: नेपाली विषयलाई पश्चिम बङ्गाल लोक सेवा आयोग (डब्ल्युबीसीएस) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा र अन्य परीक्षाहरूमा वैकल्पिक विषयको रूपमा समावेश गरिएकाेमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। उनले आज प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘पश्चिम बङ्गाल लोक सेवा आयोग (डब्ल्युबीसीएस) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा र अन्य परीक्षाहरूमा नेपाली साहित्यलाई वैकल्पिक विषयको रूपमा समावेश गर्न अनुरोध गर्दै गत २ जून २०२५ मा मैले माननीय मुख्यमन्त्री ममता बनर्जीलाई पत्राचार गरेको थिए। त्यसपछि मैले कोलकाता भ्रमण समय सम्बन्धित अधिकारी अनि विभागमा यस मुद्दालाई उठाएको थिए। त्यही पत्राचार अनि भेटघाटको प्रतिफल हो, नयाँ नोटिफिकेसन।’
उनले अघि भने, ‘नेपाली विषयलाई पश्चिम बङ्गाल लोक सेवा आयोगको परीक्षामा वैकल्पिक विषयमा समावेश गरिनु नेपाली भाषी युवाहरुलाई न्याय दिनु ठान्छु। यसको निम्ति म मुख्यमन्त्री ममता ब्यानर्जीलाई सम्पूर्ण नेपाली भाषी समुदायको तर्फबाट कृतज्ञता प्रकट गर्दछु।
आजको दिनमा कुनै पनि कुरोको समाधान डाइलगबाट नै हुन्छ भन्ने यो अर्को प्रमाण हो। ठीक ठाउँमा मुद्दा लैजानु। सही निर्णय लिने नेतृत्व सामु मुद्दा राख्नु। कुरा बुझाउनु सक्नु। आजको दिनमा चाहिएको नितान्त आवश्यक कुटनैतिक विचार हो।’
अनित थापाले अघि भने, ‘डब्लुबीसीएस परीक्षाको तयारीमा लाग्नु भएका जीटीए क्षेत्र, डुवर्स अनि तराईका नेपाली विषयलाई बैकल्पिक विषय बनाउँनु चाहनेहरूलाई शुभकामना छ।’

About Author

Advertisement