नाम्ची: टेण्डोङ ल्हो रूम फात पर्व नाली परताम, लिङ्गीमा यसपाली राज्यस्तरीय मनाइने छ। आज एक पत्रकार सम्मेलनमा उक्त जानकारी समारोह आयोजक समितिले दिएका छन्।
मन्त्री तथा राज्यस्तरीय टेण्डोङ ल्हो रूम फात समारोह समितिका संरक्षक केएन लेप्चाले यसपाली आगामी ७ अनि ८ अगस्तको दिन नाली परताममा भव्यरूपमा टेण्डोङ ल्हो रूम फात पर्व मनाइने जानकारी दिए। उनले यो पर्व सिक्किमका आदिवासी लेप्चा समुदायले मनाउने एउटा अद्वितीय र पुरानो उत्सव रहेको बताए। उनले यस ठाउॅको लेप्चा समुदायका पौराणिक कथाहरूसॅग नजिकको सम्बन्ध रहेकाले मुख्यमन्त्रीले यसपाली यहॉं टेण्डोङ ल्हो रूम फात पर्व मनाउने विचार गरेका हुन् भनी अवगत गराए। मन्त्री लेप्चाले यहॉं पर्या पर्यटनको ठूलो सम्भावना रहेको छ भन्दै यो पर्वले स्थानीयहरूलाई आफ्नो समृद्ध परम्परा र संस्कृतिको संवर्धनमा मद्दत पुग्नेछ भनी बताए।
यसै गरी, मन्त्री तथा समारोह समितिका अध्यक्ष साम्डुप लेप्चाले टेण्डोङ ल्हो रूम फात पर्व भव्यरूपमा मनाउन मुख्यमन्त्रीको सहयोगका लागि धन्यवाद दिए। उनले यो पर्व लेप्चा समुदायको एउटा महान पर्व रहेको र यसका अद्वितीय विशेषताहरूलाई जोगाइराख्न यस्ता पर्वहरू पालन गरिरहनु पर्छ भनी बताए। मुख्यमन्त्रीको दिल्लीमा पूर्व निर्धारित कार्यक्रम रहेकाले उक्त दिन मुख्यमन्त्रीको उपस्थित नरहने बताइएको छ।










