टिस्टा नदीले मचाएको ताण्डवमा १४ जनाको मृत्यु, १०२ जना निखोज, हजारौं प्रभावित

IMG-20231004-WA0126.jpg

गान्तोक: उत्तर सिक्किममा पर्ने दक्षिण ल्होनाक पोखरी फुटेपछि टिस्टा नदीमा बढ़ेको जलस्तरले सिक्किम लगायत उत्तर बंगाल (पश्चिम बंगाल) मा टिस्टा नदी किनार अवस्थित क्षेत्रहरूमा जनधनलाई व्यापक नोक्सानी भएको छ।

यो प्राकृतिक आपदाले सिक्किमको तीन जिल्लामा कुल १४ जनाको ज्यान लिएको छ भने १०२ जना निखोज रहेका छन्, जसमा २३ जना सेनाका जवान पनि सामेल छन्।

सिक्किम सरकारको भू राजस्व एवं आपदा प्रबन्धन विभागले अबेर राति जारी गरेको रिपोर्ट अनुसार, टिस्टा नदीको चपेटमा परेर सिक्किमको तीन जिल्लामा कुल १४ जनाको मृत्यु भएको छ। गान्तोक जिल्लामा ३, मंगन जिल्लामा ४ र पाकिम जिल्लामा ७ जनाको मृत्यु भएको छ।

नाम्ची जिल्लामा कसैको मृत्यु भएन, तर यहॉं ५ जना निखोज भएका छन्। यसैगरी, गान्तोकमा २२ जना, मंगनमा १६ जना र पाकिममा ५९ जना लाई टिस्टाले बगाएर निखोज भएका छन्। उक्त चार जिल्लामा कुल १०२ जना निखोज भएका छन्।

घाइते हुनेहरूको संख्या २६ बताइएको छ, जसमा गान्तोकमा ५ र पाकिममा २१ जना सामेल छन्। टिस्टा नदीमा आएको भेलले कुल ११ वटा पुललाई पनि पूर्ण रूपमा ध्वस्त बनाएको छ, जसमा गान्तोकको एउटा, मंगनको ८ वटा र नाम्चीको दुईवटा सामेल छन्।

उक्त चार जिल्लाका विभिन्न ठाउॅंहरूमा फसेका कुल २०११ जनालाई सकुशल उद्धार गरिएको पनि रिपोर्टमा उल्लेख छ। यस आपदाको चपेटमा परेर कुल २२ हजार ३४ जना प्रभावित बनेका छन्। प्रभावित परिवारहरूको देखरेखका लागि चार जिल्लामा कुल २२ राहित शिविरहरू स्थापित गरिएका छन्।

उल्लेखनीय छ, गए मंगलवार-बुधवार राति उत्तर सिक्किममा पर्ने दक्षिण ल्होनाक पोखरी क्षेत्रमा बादल फाट्दा पोखरी फुटेको बताइएको छ। पोखरीको पानीले टिस्टा नदीको जलस्तर बढ़ेपछि उत्तर सिक्किमदेखि पूर्व अनि दक्षिण सिक्किम हुॅंदै उत्तर बंगालमा समेत भारी क्षति गरेको छ।

About Author

Advertisement