व्यवसायी अनुपस्थित रहेको मौका छोपी गोदामको ताला फोडेर वैध खरबुजाको बिउ भन्सार बुझाइयो
भद्रपुर: झापा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको ९४८ बोरा खरबुजाको बिउ (वाटरमेलन सिड) बरामद गर्ने क्रममा बलमिचाइँ र कानुनी मर्यादाको धज्जी उडाएको तथ्य बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक एसपी बसुन्धरा खड्काको प्रत्यक्ष नेतृत्वमा गएको टोलीले व्यवसायी जिल्ला बाहिर रहेको अवस्थामा गोदामको ताला जबरजस्ती फोडेर सामान बरामद गरी भद्रपुर भन्सार कार्यालय बुझाएको खुलासा भएको हो।
प्रहरीले अवैध दाबी गरेको उक्त सामानका सबै आधिकारिक कर बिजक (ट्याक्स इन्भोइस) र राजस्व अनुसन्धान विभागको भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) को प्रमाण सुरक्षित हुँदाहुँदै प्रहरीले गरेको यस्तो बलमिचाइँपूर्ण शैलीले व्यावसायिक क्षेत्रमा त्रास र आक्रोश पैदा गरेको छ।
व्यवसायी बाहिर भएको मौकामा ‘प्रहरी प्रमुखकै कमान्डमा’ बल प्रयोग
घटना विवरण अनुसार, भद्रपुर नगरपालिका वडा नम्बर ३ स्थित ज्ञानु चोकमा रहेको ‘माँ दुर्गा अर्डर सप्लायर्स’ को गोदाममा प्रहरीले छापा मारेको थियो। त्यस क्रममा सप्लायर्सका सञ्चालक व्यावसायिक कामको सिलसिलामा झापा बाहिर रहेका थिए।
गोदाममा कोही नभएको र आवश्यक कानुनी कागजात देखाउने मौका समेत नदिई जिल्ला प्रहरी प्रमुखकै कमान्डमा खटिएको टोलीले गोदामको ताला जबरजस्ती फुटाएको थियो। गोदामभित्र भण्डारण गरी राखिएको कुल ९४८ बोरा खरबुजाको बिउलाई प्रहरीले ‘अवैध’ को ट्याग भिराउँदै तुरुन्तै भद्रपुर भन्सार कार्यालय बुझाएको थियो।
७० लाख बढीको सामान, राज्यलाई बुझाइएको छ पूर्ण कर
व्यवसायीले सार्वजनिक गरेको आधिकारिक कागजात अनुसार उक्त खरबुजाको बिउ वीरगन्जका दुई फरक व्यावसायिक फर्महरूबाट सम्पूर्ण कानुनी प्रक्रिया र कर भुक्तानी गरी झापा ल्याइएको थियो:
१. कुवेर एक्जिम प्रा. लि. (वीरगन्ज): बिल नं. २७८ मार्फत १८,००० केजी (४२३ बोरा) बिउ, जसको मूल्य रु. ३२,५४,४००/- (१३% भ्याटसहित) रहेको छ। (भीसीटीएस कन्साइनमेन्ट आईडी: ८२८३००९८९६१४६)
२. पशुपति एक्जिम प्रा. लि. (वीरगन्ज): बिल नं. ७ मार्फत २१,००० केजी (५२५ बोरा) बिउ, जसको मूल्य रु. ३७,९६,८००/- (१३% भ्याटसहित) रहेको छ। (भीसीटीएस कन्साइनमेन्ट आईडी: ८२८३०१११७५१२६)
अर्थ मन्त्रालयको अनलाइन ट्र्याकिङ (भीसीटीएस) मा समेत प्रविष्टि भइसकेको र करिब ७० लाख ५१ हजार रुपैयाँ बराबरको वैध सामानलाई प्रहरीले कुन स्वार्थमा परेर ‘तस्करीको सामान’ भन्दै ताला फोडेर बरामद गर्यो भन्ने कुरा रहस्यमय बनेको छ।
प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न
प्रहरीले कुनै पनि स्थानमा छापा मार्दा वा सामान बरामद गर्दा सम्बन्धित धनी, स्थानीय प्रतिनिधि वा रोहवरमा साक्षी राख्नुपर्ने कानुनी प्रावधान छ। तर, व्यवसायी अनुपस्थित रहेको अवस्थामा सिधै ताला फोडेर सामान भन्सार लैजानुले झापा प्रहरीको नियत र अनुसन्धान क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
पीडित व्यवसायी तथा माँ दुर्गा अर्डर सप्लायर्सका सञ्चालक राजु थापामगरकाे गुनासो: “हामीले राज्यलाई नियमसंगत कर बुझाएर व्यवसाय गरिरहेका छौँ। म झापा बाहिर रहेको मौका छोपी, कागजात हेर्ने वा देखाउने सामान्य अवसर समेत नदिई जिल्लाका प्रहरी प्रमुखकै नेतृत्वमा गुण्डागर्दी शैलीमा गोदामको ताला फोडियो। वैध सामानलाई जबरजस्ती भन्सार बुझाएर हाम्रो व्यावसायिक साख मात्र गिरेको छैन, कानुनी राज्यकै उपहास भएको छ।”
आधिकारिक भ्याट बिल र सरकारी राजस्व ट्र्याकिङ सिस्टमको प्रमाण फेला परिसकेकाले भन्सार कार्यालयले उक्त सामान तुरुन्त फुकुवा गर्नुपर्ने र विना कारण व्यवसायीलाई मानसिक र आर्थिक क्षति पुर्याउने प्रहरी नेतृत्वमाथि छानबिन हुनुपर्ने माग स्थानीय उद्योगी व्यवसायीहरूले गरेका छन्।








