सोनादा: ‘झण्डाको पछि लागेर हाम्राहरु झण्डी मात्र भए। यतिका वर्ष हाम्राहरु केवल झण्डाकै पछि मात्र कुदिरहे। झण्डाको पछि लाग्दा खै के पाए? आफै झण्डी जस्तो फाल्याकफुलुक हल्लिनु मात्र भए। यसैले झण्डीको पछि लागे झण्डी मात्र हुन्छ’, सोनादा-पचेङ समष्टिको राजाहट्टा बस्तीमा आयोजित चुनाव सभालाई सम्बोधन गर्दै यसबाट भागोप्रमोको प्रार्थी अनोश थापाले यस्तो टिप्पणी गरेका छन्। आउँदो २६ जूनमा हुने जीटीए चुनावका लागि चुनाव मैदानमा सोनादा-पचेङ समष्टिमा उत्रिएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी अनोश थापाले हाल समष्टिव्यापी जोरतोड रुपमा चुनाव प्रचार गरिरहेका छन्। सोही क्रममा अप्पर सोनादा ग्राम पञ्चायतअन्तर्गत वार्ड नम्बर (१) तथा खरसाङ विधानसभा समष्टिको १ नम्बर बुथमा पर्ने राजाहट्टा बस्तीमा पनि प्रार्थी अनोश थापाले आफ्नो चुनाव प्रचार गरे। भागोप्रमो राजाहट्टा शाखाद्वारा गाउँकै सार्वजनिक भवनमा आयोजित सभामा पार्टी प्रत्यासी अनोश थापासँगै समष्टि अध्यक्ष सोनाम तामाङ, सांगठनिक सचिव दावा तामाङ, प्रचार-प्रसार सचिव किरण राई, युवा शक्तिका सोनम लोहारलगायत समष्टिका प्रतिनिधिहरु उपस्थित थिए। गाउँका बासिन्दा भक्तबहादुर थापाको अध्यक्षतामा आयोजित सभालाई सम्बोधन गर्दै प्रार्थी अनोश थापाले अघि भने, ‘अब युवाहरू झण्डाको पछि मात्र लागिरहनु हुँदैन। आत्मानिर्भर बन्नु सक्नुपर्छ। अलिकति पैसाको लागि नेताअघि हात फैलाउनु भन्दा आफै स्वलम्बी बन्नसके कसैको अघि हात फैलाइरहने अवश्यकता पर्दैनl’ शान्ति र विकासको छोटो कथालाई आधार बनाएर उनले राजाहट्टा बस्तीको प्राकृतिक सुन्दरताको बयान गर्दै राजाहट्टामा ग्रामीण पर्यटन फस्टिनसक्ने सम्भावनाबारे सुझाव दिए। सभामा गाउँवासीको पक्षबाट राखिएको समस्यालाई चुनाव जिते पनि हारे पनि आफ्नो पक्षबाट गर्नसक्ने जति समाधान गरेरै छाडने उनले प्रतिबद्धता जनाए। सम्बोधनकै क्रममा यदि चुनाव जिते आफ्नो चुनाव घोषणा-पत्रमा वाचा गरेअनुसारको सुन्दर सोनादाको परिकल्पनालाई व्यवहारिकता अवश्यै ल्याउने तथा यतिका समयसम्म बुनियादी विकासदेखि वञ्चित राजाहट्टा बस्तीको समुचित विकास गरेर नक्सा परिवर्तन गर्ने आफ्नो ड्रीम प्लान रहेको उनले दावी गरे। उनले पूरा सम्बोधनभरि चुनावी मुद्दालाई नै जोर दिए भने बाँकी कुनै चुनावी प्रतिद्वन्द्वी र प्रतिपक्षीहरु कसैको खइरो खनेनन्। सभालाई समष्टि अध्यक्ष सोनाम तामाङ अनि प्रचारप्रसार सचिव किरण राईले पनि सम्बोधन गरे।











