जोरथाङ माघे मेलाको आयोजनालाई लिएर मुख्यमन्त्री तामाङको अध्यक्षतामा बैठक

IMG-20231219-WA0205.jpg

नाम्ची: आगामी जोरथाङ माघेमेलाको तयारीलाई लिएर एउटा जरुरी बैठक आज जोरथाङको सामुदायिक भवनमा सम्पन्न भयो। सभालाई स्वंय मुख्यमन्त्री प्रेम सिंह तामाङले अध्यक्षता गरेका थिए। बैठकमा मेला आयोजना सम्बन्धी विभिन्न विषयमा चर्चा गर्नुको साथै आयोजक समिति एवं उपसमितिहरू गठन गरियो। यसको साथै एउटा खुल्ला चर्चा सत्र पनि आयोजना गरिएको थियो जसमा मेलालाई लिएर उपस्थितजनले आ-आफ्नो विचार र सुझाउहरू राखेका थिए।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले जोरथाङ मेलाको इतिहास अनि यसको महत्वमाथि प्रकाश पारे। समयको परिवर्तसँगै जोरथाङ मेलालाई थप कार्यक्रमहरूको साथमा अझ भव्यता र आकर्षकरुपमा पालन गरिनुपर्ने कुरमा उनले जोर दिए। यसको साथै उनले आजको बैठकमा उपस्थित सबैलाई आगामी कार्यक्रमलाई सफल बनाउन सक्रियरुपमा सहभागी बन्ने आह्वान पनि गरे।

बैठकलाई नयाँ बजार जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानवले पनि सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा जोरथाङ माघे मेला किन विशेष छ भन्ने बारे बताए। उल्लेखनीय छ, प्रत्येक वर्ष जनवरी महिनामा जोरथाङमा माघे मेला आयोजना गरिने गरेको छ। जोरथाङ माघे मेला सिक्किममा मात्र नभएर राज्य बाहिरका वरपर क्षेत्रमा पनि निक्कै लोकप्रिय छ।

आजको बैठकमा अन्यहरूको साथमा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण राई र जूम सालघारी समष्टिकी विधायक श्रीमती सुनिता गजमेरको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement