जोरथाङमा ७१औँ माघे संक्रान्ति मेला १४ जनवरीदेखि, स्वर्ण कप फुटबल मुख्य आकर्षण

n69550331017673779094411455dbcebeee83318262fb04af793b6d6137d1fd2da5540fb5b4902ac6130aaf

जोरथाङ: जोरथाङको खेल मैदानमा आगामी १४ जनवरी २०२६ देखि ७१औँ माघे संक्रान्ति मेला सुरु हुने भएको छ। मेलाको उद्घाटन सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले गर्ने कार्यक्रम छ।
विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित आयोजना गरिने यस वर्षको माघे संक्रान्ति मेलामा ११औँ अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।
आज जोरथाङमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय विधायक तथा माघे संक्रान्ति मेलाका प्रमुख संरक्षक मदन सिन्चुरीले माघे संक्रान्ति मेलालाई अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको दृष्टिकोण दोहोऱ्याए। उनले मेलाको सफल आयोजनाका लागि आयोजक समितिले सबै लाइन विभागका अधिकारीहरूसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए।
विधायक सिन्चुरीका अनुसार मेला १४ जनवरीदेखि सुरु हुनेछ भने १५ जनवरीको दिन युवा पुस्तालाई समर्पित गरिनेछ। उक्त दिन साँझ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ। मेला अवधिभर बलिउडका चर्चित गायक शानसहित आशिष राणा (लाहुरे), जोन राई, पूर्ण राई, दाजुभाईलगायत कलाकारहरूको प्रस्तुति रहने उनले बताए। उनले सबैलाई माघे संक्रान्ति मेलामा सहभागी भई सौहार्दपूर्ण र शान्तिपूर्ण रूपमा उत्सव मनाउन आग्रह गरे।
यसैगरी जोरथाङ फुटबल एसोसिएशन तथा ११औँ अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता आयोजक समितिका महासचिव रूबेन सुब्बाले यस वर्ष प्रतियोगितामा कुल १५ टोली सहभागी हुने जानकारी दिए। उनका अनुसार प्रतियोगिता आगामी ५ जनवरीदेखि सुरु भई २२ जनवरीमा फाइनल खेलाइनेछ। विजेता टोलीलाई २० लाख रुपैयाँ र उपविजेता टोलीलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै ‘म्यान अफ द टुर्नामेन्ट’लाई टाटा टियागो गाडी प्रदान गरिने आयोजकले जनाएको छ।

About Author

Advertisement