विश्व नेताहरूसँग महत्त्वपूर्ण व्यापारिक सम्झौता
नयाँ दिल्ली: फ्रान्सको एभियनमा सम्पन्न जी७ शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरूसँग गहन कूटनीतिक वार्ता गर्दै महत्त्वपूर्ण आर्थिक र रणनीतिक सहमतिहरू जुटाउनुभएको छ। सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा व्यापार, रक्षा, ऊर्जा र प्रविधिमा सहकार्य बढाउने र पश्चिम एशियाको शान्ति तथा होर्मुज जलसन्धिको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल भयो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तामा द्विपक्षीय व्यापारिक सम्बन्धलाई युद्धअघिको अवस्थामा फर्काउने तथा आपसी सहयोग विस्तार गर्ने सहमति भएको छ। प्रधानमन्त्री मोदीले विश्वव्यापी संकटहरू वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने भारतको दृढ अडान पुन: दोहोर्याउनुभएको छ।
आर्थिक कूटनीतिको दृष्टिकोणले यो भ्रमण निकै सफल देखिएको छ। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँगको भेटवार्तापछि भारत-बेलायतबीचको ‘व्यापक आर्थिक र व्यापार सम्झौता’ (सीईटीए) आगामी जुलाई १५, २०२६ बाट लागू गर्ने निर्णय भएको छ, जसमा भारतले आफ्ना कृषि र दुग्धजन्य उत्पादनहरूजस्ता संवेदनशील क्षेत्रहरूको सुरक्षालाई प्राथमिकता दिएको छ। क्यानाडासँगको ‘व्यापक आर्थिक साझेदारी सम्झौता’ (सीईपीए)लाई पनि सन् २०२६ भित्रै टुंगो लगाउने लक्ष्य लिइएको छ। सबैभन्दा ठूलो उपलब्धिका रूपमा युरोपेली संघसँगको ‘मुक्त व्यापार सम्झौता’ (एफटीए) लाई लिइएको छ, जसलाई ‘मदर अफ अल ट्रेड डिल्स’ को नाम दिइएको छ र यसमा यसै वर्षको अन्त्यसम्ममा हस्ताक्षर हुने भएको छ। यी उपलब्धिहरूले विश्व मञ्चमा भारतको बढ्दो कूटनीतिक प्रभाव र ‘मल्टी-अलाइनमेन्ट’ नीतिको सफलतालाई प्रस्ट पारेको छ।









