जीटीए चिफ्द्वारा खरसाङको गिध्द पहाड़ क्षेत्र र गौरी शंकर चियाबारीको लागि २० करोड बराबरको लागत खर्चमा पानीको परियोजनाको शिलान्यास

IMG_20221214_162621.jpg

खरसाङ: खरसाङको २९ नम्बर समष्टि अन्तर्गत गिध्द पहाड़ र क्यासलटन चियाबारी क्षेत्रका लागि करोडौं रुपियाँको लागतमा आएको जल जीवन मिशन परियोजनाको कार्यको शिलान्यास जीटीए चिफ् अनित थापाले गरेका छन्। खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत गौरी शंकर चियाबारीको खेल मैदानमा सम्पन्न एक कार्यक्रमबीच जीटीए चिफ् अनित थापाले उक्त पेय जल परियोजनाको शिलान्यास गरेका छन्। उक्त जल परियोजना अन्तर्गत गिध्द पहाड़ क्षेत्रको लागि १७ करोड़ १७ लाख ३४ हजार ५ सय १९ रुपियाँ लागत खर्च अनि क्यासलटन चियाबारी क्षेत्रका लागि २ करोड़ ७२ लाख ८० हजार १ सय ४१ रुपियाँ बराबरको लागत खर्चमा पानीको काम पीएचई विभागबाट भईरहेको छ। उक्त शिलान्यास कार्यमा भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङले नरिवल खुटाएर गरेका थिए भने जीटीए चिफ् अनित थापा र समष्टी सभापति पेमेन्द्र गुरुङले संयुक्त रूपमा शिलान्यास गरेका थिए। उक्त पिउने पानीको शिलान्यास कार्यक्रम साथै गत जीटीए चुनावमा खरसाङ गिध्द पहाड़ समष्टिका जनताले जीटीए चिफ् अनित थापालाई भारी मतले बिजय तुल्याएकोमा समष्टीको तर्फबाट जनतालाई धन्यवाद दिनलाई पनि यो कार्यक्रम सम्पन्न गरिएको थियो। यस शिलान्यास कार्यक्रमलाई यसै समष्टीको सभापति पेमेन्द्र गुरुङले अध्यक्षता गरेका थिए भने दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले राखेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा फुपछिरिङ पान्दाम समष्टिको निर्मल छेत्रीले वक्तव्य राखेका थिए।

यसै कार्यक्रममा खरसाङको बागिना सांगीतिक टोली र दार्जिलिङको सांगीतिक टोली कार्निभलद्वारा सांगीतिक प्रस्तुति दिइएको थियो। त्यसरी नै कालेबुङका हाँस्य कलाकार महेन्द्र बागदासले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा कार्यकारी सभासद अनोश थापा लगायत सभासदहरू श्याम शेर्पा, नुरी शेर्पा, नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन, खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान एंव अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती पनि उपस्थित रहेका थिए। शिलान्यास विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement