दार्जिलिङ: जीटीए क्षेत्रका चिया श्रमिकहरुले अब आफ्नो बाजे बराजुदेखि सिंचेको सम्पूर्ण जमीनको मालिकाना अधिकार पाउने भएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनके प्रमुख अनित थापाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले भनेका छन् -जीटीए क्षेत्रमा युगौंदेखि चियाका बोटसँगै हुर्केर हाम्रा पुर्खाले हाम्रो निम्ति सिंचेको सम्पूर्ण जमीनकै मालिकाना अधिकार पाउने पहिलो खुड्किलोको रुपमा आज राज्य सरकारद्वारा जीटीए क्षेत्रका चिया कमानमा “आफ्नो अधीनमा रहेको सम्पूर्ण जमीनकै सर्वेक्षण गर्ने निर्देश दार्जिलिङ साथै कालेबुङका जिल्लापाललाई जारी गरिएको छ।’ उनले अघि भने, राज्य सरकारद्वारा गत १ अगस्त १०२३ मा ५ डेसिमलसम्मको घड़ेरी पट्टा वितरण गर्ने निर्देश जारी भएपछि विभिन्न श्रमिक संगठनहरू साथै चिया श्रमिकहरुमा पनि असन्तुष्टि देखा परेको थियो। श्रमिक हित साथै अधिकारको निम्ति यस विषयलाई मैले पनि तुरुन्त राज्य सरकार समक्ष राखेपछि हाम्रो क्षेत्रमा सर्वेक्षण रोकिएको थियो। आज राज्य सरकारद्वारा फेरि पहिलाको निर्देशलाई खारिज गरी हाम्रो क्षेत्रमा जसको जत्ति जमीन छ त्यसकै सर्वेक्षण गर्ने जुन निर्देश जारी गरिएको छ यो स्वागत योग्य छ साथै यो हामी सबैको जीत हो। त्यस समय पर्जा पट्टा बिषय आवाज उठाउने समस्त ट्रेड युनियन साथै श्रमिक वर्गलाई धन्यवाद दिन चाहन्छु।’
थापाले अझ भने, ‘अब यो नयाँ नोटिफिकेशन जारी भएको छ र हाम्रा श्रमिकहरुले आफ्नो समस्त जमीनको अधिकार पाउने लगभग निश्चित भएपछि हामी फेरि एकपल्ट संयुक्त भएर यो मुद्दालाई टुंगो लगाउन पर्छ। यसको निम्ति झट्टै सबै निर्वाचित सभासद साथै समस्त ट्रेड युनियनहरुको एक जरुरी सभा आयोजन गरेर हामीले भविष्यका योजनाहरुमा छलफल गर्न आवश्यक छ। सबैको सहयोग र सुझावको निम्ति झट्टै यो बैठक बोलाउने छु।’
उनले यो जित हामी सबैको जित हो भन्दै यसपाली युगौंदेखि बञ्जित रहेका हाम्रा श्रमिकहरुको सम्पूर्ण जमीनको अधिकारको निम्ति हामी एक भएर कार्य गर्नेछौं भनी म आशा गर्छु भनी बताएका छन्।










