सञ्जु छेत्री विरूद्ध फर्जी काण्डमा जीटीएले एफआईआर दर्ता गर्ने
दार्जिलिङ: जीटीएमा दाल काण्डमाथि भएको चर्चालाई लिएर अनित थापालेआज प्रतिक्रिया दिएका छन्। यस विषयमा सञ्जु छेत्री विरूद्ध फर्जी काण्डमा जीटीएले एफआईआर दर्ता गर्ने पनि उनले जानकारी गराएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीए प्रमुख अनित थापाले भने, ‘मैले जीटीएको सेक्रेटरी अनि इडीसँग यस विषयमा राम्ररी जानकारी लिए। उहाँहरुले दिनुभएको जानकारी अनुसार जीटीएले कुनै पनि ठाउँमा दालको आवेदन गरेका थिएनन् अनि छैनन् पनि।’
उनले अघि भने, ‘जीटीएमा कुनै पनि प्रस्ताव राख्नु परेमा प्रक्रिया अनुुसार विभागले प्रस्ताव सेक्रेटरीलाई पठाउँछ। सेक्रेटरीले मुख्य सचिवलाई अनि मुख्य सचिवले राज्यका प्रमुख सचिवलाई पठाउने गर्छ। केन्द्रको योजना छ भने राज्यका मुख्य सचिवले केन्द्रलाई पठाउँछ। दालको योजना अन्तर्गत सब्सिडीमा दाल किनेर जीटीएले यहाँका बासिन्दालाई निःशुल्क या कम्ति दाममा दिन सक्ने योजना रहेछ।’
यस विषयमा थापाले अझ भने, ‘जीटीएले न त चानाको दालको प्रस्ताव पठाएको छ। न त कुनै पेमेन्ट गरेको छ। न त दाल नै उठाएको छ। चाना दाल प्रकरणमा जीटीएको कुनै रोल नै छैन। तर जीटीएको नाममा दालमाथि धाँधली अवश्य भएको छ। सन्जु क्षेत्री नामक एक व्यक्तिले जीटीएको नाम गरेर दाल प्रकरणमा धाँधली गर्न कोसिस गरेको रहेछ।’
उनले भने, जीटीएका सम्बन्धित अधिकारीहरूसँग मैले लगभग ३ घण्टा यस विषयमा चर्चा गरे। अनि निष्कर्षमा हामी अब सन्जु क्षेत्रीको विरुद्ध थानामा एफआईआर दर्ता गर्नेछौँ। पुलिसले यस विषयमाथि छानबिन अवश्य गर्नेछन्। अनि छानबिनमा कुन कुन व्यक्तिहरु संलग्न छन् त्यो पनि पत्ता लाग्नेछ। यो काण्ड फर्जी काण्ड हो। जीटीए जस्तो व्यवस्थामाथि यसरी खेलवाड गर्न ठूलो फर्जी काण्ड हो।’










