जिल्लास्तरीय युवा संसद प्रतियोगितामा सोनादा डिग्री कलेजले प्राप्त गरे तेस्रो स्थान

8733f808-d750-4fb7-a5ac-fe910128552e

सोनादा: साउथफिल्ड कलेज, दार्जिलिङमा सम्पन्न दार्जिलिङ जिल्लास्तरीय युवा संसद प्रतियोगितामा सोनादा डिग्री कलेजले तेस्रो स्थान हासिल गरेको छ। कलेजले उत्कृष्ट स्क्रिप्ट, सर्वश्रेष्ठ वक्ता, सर्वश्रेष्ठ प्रतिपक्षी नेता र उत्कृष्ट मार्शल गरी चार विशेष पुरस्कार पनि प्राप्त गरेको छ।प्रतियोगितामा सहभागी विद्यार्थीहरूले संसदको कार्यवाहीलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिमा विषयवस्तुको तयारी, वक्तृत्वकला, तर्क प्रस्तुत गर्ने क्षमता र समूहगत समन्वय झल्किएको थियो। तेस्रो स्थानसँगै विभिन्न विधामा प्राप्त पुरस्कारले विद्यार्थीहरूको व्यक्तिगत प्रतिभा र सामूहिक मेहनत दुवैलाई सम्मान दिएको छ।
यस उपलब्धिमा विजयी तथा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै कलेजका प्राचार्य डा. योगेश खातीले उनीहरूको मेहनत, सामूहिक प्रयासको प्रशंसा गरे। उनले प्रतियोगिताको तयारीमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने मेन्टर प्राध्यापक सुशीला बराइली र डा. कोमल कौशिक बरालका साथै सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक तथा गैरशिक्षक कर्मचारीप्रति धन्यवाद व्यक्त गरे। डा. खातीले यस्ता प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा राख्न, अरूका विचार सुन्न र सार्वजनिक विषयमा जिम्मेवारीपूर्वक सहभागी हुन सुअवसर प्रदान गर्ने बताए। उनले आगामी दिनमा पनि कलेजका विभिन्न कार्यक्रममा उत्साहपूर्वक भाग लिन र प्राप्त अवसरलाई आफ्नो क्षमता विकासका लागि उपयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। सोनादा डिग्री कलेजको यस सफलताले विद्यार्थीहरूको प्रतिभाको परिचयसंगै शैक्षिक गतिविधिमा कलेजको सक्रिय सहभागितालाई पनि प्रकाश पारेको छ। कलेजको प्रेक्षागृहमा आज एक कार्यक्रमबीच उक्त सहभागी र बिजयी प्रतिय‍ोगीहरुलाई बधाईसंगै आयोजक पक्षबाट दिइएको प्रमाण पत्रहरु प्रदान गरिएक‍ो थियो।

About Author

Advertisement