
गान्तोक सिक्किम
एउटा जिन्दगी छ मसित
त्यही पनि गार्हो छ
समय घडीको काँटासँग
टिक टिक घुम्नलाई
समय घरीको खाँबो समातेर
ताते गर्दै त्रासहरुको कर्म क्षेत्रमा
धराशायी गोडाहरु
कहिले उक्लन्छन् कहिले ओर्लन्छन्
घामले ल्याइदिएको उज्यालो पर्खिएर अँध्यारो काट्छु तर
रातहरु नै मेरा आमाहरु हुन्
जहाँ निर्भिक निदाउँछु
अचेल बिहान स्तब्ध छ
घन्टी बज्दैन मन्दिरको
पण्डित मरे अरे
कुरान पढ्दैनन् अल्लाह पुकार्दैनन्
अस्ति स्वर्ग हिँडे अरे
चर्चहरुमा प्रार्थना छैन
केवल एउटै ध्वनि (रेस्ट इन् पिस)
मलाई तानि हिँडने सानो धड्कन ढुकढुक गतिशील छ
मेरो मन अरे त्यो
तन पनि त्यही अरे
उ फेस म निउटल पो भन्छ
भाइरसहरुको शहरमा
सौदा गर्दैछु अहिले
पेन्सिलको लिड जस्तो
लेखिँदा लेखिँदै छ्यास्स मेटिने पो हो की
तर अहँ मेरो ईश्वर मेरो भरोसा
शायद रिप नलेखियोस्
श्रद्धाञ्जलीको समय नआवोस्
बुट्टा बुट्टामा औषधीय रसहरु
यी प्रकृतिका अशेष जाँगरहरु
सञ्जीवनी
आहा ‘म‘ सधैं एकान्त बस्छु
मेरी काली मोहिनी
सँगै सँगै निदाउँछे
अनि भाग्छे
कति स्नेही छे
प्रणय टुटेपछि हेरिरहन्छे
धत्तेरी ‘म‘ कस्तो उदास हँll










