जारेङ बर्फुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा

IMG-20250907-WA0126

गान्तोक: दक्षिण जिल्लाको राभाङ महुकमाअन्तर्गत जारेङ बर्फुङ निर्वाचन क्षेत्रमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा बलराम लिम्बूको अध्यक्षतामा सम्पन्न भयो। सभामा श्रीथाङ वार्ड लगायत वरिपरिका गाउँहरूबाट एसडीएफ पार्टीका समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। यस सभामा पार्टीका जिल्ला प्रतिनिधिहरूका रूपमा गोपी चौहान, अनिता गौतम तथा निमल्हमु तामाङले सम्बोधन गरे। सभामा वक्ताहरूले एसकेएम सरकारको पक्षपाती नीतिका कारण गाउँका जनताले धेरै दुःख भोगिरहेको अवगत गराए। सहुलियत वितरण गर्दा सही लाभार्थीहरूलाई नदिएर पक्षपात गरेको आरोप लगाउँदै जनतामाथि ठूलो अन्याय भएको आरोप लगाएको छ। यसका साथै सडकहरूको कुनै मरम्मति नभई लथालिङ्ग अवस्थामा रहेकाले यातायातको निम्ति अतिनै कठिनाइको सामना गर्नु परेको विषयमाथि चर्चा परिचर्चा गरियो। यस सभामा वार्डस्तरीय चेली समिति तथा युवा समिति गठन गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। सभामा जिल्ला कार्यकारिणी समितिका अध्यक्ष रमेश किराँतले आफ्नो वक्तव्यमा एसडीएफ जहिल्यै पनि सिक्किमको जनताको साथमा रहेको र कुनै पनि परिस्थितिमा यो पार्टी सिक्किम विरोधी तथा जनतालाई दुःख दिने, सताउने शक्तिको अघि नझुक्ने दाबी गरे। उनले एसडीएफ पार्टी जहिल्यै पनि सिक्किमको जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष एवं दक्षिण जिल्ला प्रभारी सकुन गुरुङले आफ्नो वक्तव्यमा अहिले पार्टीले हरेक क्षेत्रमा पुगेर सबै संगठनलाई सुदृढ बनाउने कार्य गरिरहेको र जिल्ला स्तरीय समिति गाउँ,गाउँमा पुगेर जनतासँग भेटघाट गरिरहेको जानकारी गराइन्।

About Author

Advertisement