जामुगढी (असम): गत १० जुलाईको दिन असमको शोणितपुर जिल्लाको जामुगढीमा इन्द्रेनी प्रकाशन, असम तथा देउराली साहित्य- सामाजिक मञ्चको संयुक्त पहलमा एक भव्य कार्यक्रममा ६ वटा पुस्तक विमोचन गरिनुका साथै कविता वाचनको कार्यशाला सम्पन्न भयोl कार्यक्रमको सञ्चालन कवि, कथाकार, नाटककार कृष्णनील कार्कीले गरे। आयोजकको पक्षबाट कवि-कथाकार-समालोचक रुद्र बरालको स्वागत अभिभाषणपछि कार्यक्रमको थालनी भयो। यस कार्यक्रममा कविता वाचनको विषय विशेषज्ञका रूपमा बी. बरुवा कलेज गुवाहाटीकी असमिया विभाग प्रमुख डा. इन्द्रु प्रभा देवीले कविता, कविताको स्वरूप र कविता वाचनको कला सन्दर्भमा सोदारण लामो बहस राखिन्। नेपाली कविताको वाचनशैलीका साथै उनले असमिया कविताको वाचनशैलीसमेत व्याख्या गरिन्। असमका युवा छिमलका दसजना चर्चित कविले कार्यशालाबिच वाचन गरेका कविताहरूको समीक्षा र पुन: वाचन गरेर ती कविताहरूको वाचनमा रहेका त्रुटिहरू उनले देखाइदिएकी थिइन्। यस क्रार्यक्रममा ३० जना कविले स्वरचित कविता वाचन गरे। असमका चर्चित गायक नरबहादुर छेत्री र प्रेम विश्वकर्माको गीत र मनजीत गजुरेलको लोकनृत्यले कार्यशाला अझ आकर्षक पारे।
यसै क्रार्यक्रममा इन्द्रेनी प्रकाशन असमले प्रकाश गरेका पाँच पुस्तकलगायत मोठ ६ वटा पुस्तक विमोचन गर्यो। यी विमोचित पुस्तकहरू हुन्:
१. रामसिंह ठकुरीको भायोलिन ( कविता सङ्ग्रह, धर्मेन्द्र उपाध्याय)
२. अनुहारभित्रको अनुहार (कविता सङ्ग्रह, पूजा आचार्य )
३. आक्रोशका झिल्काहरू (गजल सङ्ग्रह, प्रदीप शर्मा)
४. जन्मदिनको उपहार (कथा सङ्ग्रह, कृष्णनील कार्की)
५. काव्य सिर्जनाको कसी (समालोचना सङ्ग्रह, रुद्र बराल)
६. कोरोनाकालीन भारतेली निबन्ध(निबन्ध सङ्कलन्, सम्पादक: रुद्र बराल, कृष्णनील कार्की)
विमोचित पुस्तकहरूको बारेमा रुद्र बरालले एक लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए।
गत मई महिनामा सम्पन्न भएको पूर्वोत्तर भारततहको देउराली साहित्य- सामाजिक मञ्च र इन्द्रेनी प्रकाशन, असमको संयुक्त पहलमा सम्पन्न भएको ‘पर्यावरणीय कविता प्रतियोगिताको परिणाम घोषणा र पुरस्कार वितरण पनि उसैदिन गरिएको थियो। यस प्रतियोगितामा ६५ जना कविको सहभागिता रहेको थियो भने प्रेषित कविताको मूल्याङ्कन प्रख्यात कवि, नाटककार, सम्पादक अनिनाश श्रेष्ठद्वारा गराइएको थियो। पुरस्कार अलङकरण समारोहको सञ्चालन देउराली साहित्य- सामाजिक मञ्चका सभापति र पर्यावरणीय साहित्यकार डा. देवेन सापकोटाद्वारा भएको थियो। यस प्रतियोगिताका विजयीहरूको तालिका यसप्रकार छ-
पहिलो- नैना अधिकारी, खेत्री, कामरूप मेट्रो
दोश्रो – भीष्म अधिकारी, लोख्रा, शोणितपुर
तेस्रो -१. मनिषा दाहाल, रौता, उदालगढी
२. लोकनाथ शर्मा, जागुन, तिनसुकिया
प्रथम पुरस्कार राशि ७०००/-, दोस्रोको ६०००/- र तेस्रोको(५०००/=) २५०० गरेर दुईजनालाई, मानपत्र र पुस्तक प्रदान गरिएको थियो। उल्लेखयोग्य के छ भने यो पुरस्कार राशि पर्यावरण साहित्यकार तथा अनेसास साउथ इनल्यान्ड अध्यक्ष विजय हितानले प्रदान गरे।
यस कार्यक्रममा विश्वनाथ कृषि महाविद्यालयका प्राध्यापक डा.भक्तप्रसाद गौतम, अनेसास, शोणितपुरका पूर्व सभापति गुरुप्रसाद उपाध्याय, अनेसास, शोणितपुरका सभापति डिल्लीराम खनाल, मूलसचिव भूवन छेत्री, अनेसास, विश्वनाथ जिल्लाका मूल सचिव रामप्रसाद दाहाल, अनेसास केन्द्रीय सचिव नवप्रभा अधिकारी, दीपक गजुरेल, केन्द्रीय सदस्य धर्मेन्द्र उपाध्याय, हेमन्त भट्टराई, अनुपमा कट्टेल, प्रेम विश्वकर्मा, गीतकार-गायक चक्रपानी शर्मा, प्रवीण साहित्यकार कृष्ण छेत्री, व्यङ्ग्यकार अर्जुन निरोला, साहित्यकार डा: दैवकी देवी तिमसिना, डा.सरिता शर्मा, डा.ढुण्डीराज उपाध्याय, नारद निरोला, भीम धमालालगायत प्राय एक सयजना स्रोताको उपस्थिति रहेको थियो।









